एजेन्सी । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले हर्मुज जलसन्धिमा जारी अवरोध लम्बिएमा त्यसले विश्वभरि अत्यन्तै गम्भीर र विनाशकारी परिणाम निम्त्याउन सक्ने चेतावनी दिनुभएको छ ।
महासचिव गुटेरेसले बिहीबार आयोजित पत्रकार सम्मेलनलाई सम्बाेधन गर्दै यस्ताे चेतावनी दिनुभएकाे हाे । यस अवरोधले निम्त्याउन सक्ने विभिन्न आर्थिक प्रभावहरूबारे तीन वटा सम्भावित परिदृश्यहरू प्रश्तुत गर्नुभयो । विभिन्न स्रोतका प्रक्षेपणहरू उद्धृत गर्दै महासचिव गुटेरेसले पहिलो परिदृश्यका रूपमा यदि आजैदेखि अवरोध हटाइयो भने पनि खलबलिएको आपूर्ति श्रृङ्खला (सप्लाई चेन) पूर्ववत अवस्थामा फर्कन महिनाौं लाग्ने बताउनुभएकाे छ ।
यसो हुँदा पनि यस वर्षको विश्वव्यापी आर्थिक वृद्धिदर ३ दशमलव ४ प्रतिशतबाट घटेर ३ दशमलव १ प्रतिशतमा झर्ने र ३ दशमलव ८ प्रतिशतमा रहेको मुद्रास्फीति बढेर ४ दशमलव ४ प्रतिशत पुग्ने देखिन्छ । दोस्रो परिदृश्यका रूपमा यदि यो अवरोध आगामी वर्षको मध्यसम्म लम्बिएमा विश्वव्यापी आर्थिक वृद्धिदर २ दशमलव ५ प्रतिशतमा खुम्चिनेछ ।
यस्तो अवस्थामा ३ करोड २० लाख मानिस गरिबीको रेखामुनि धकेलिने र मलको अभावका कारण बाली उत्पादनमा कमी आउँदा थप ४ करोड ५० लाख मानिसले चरम भोकमरीको सामना गर्नुपर्ने महासचिव गुटेरेसले चेतावनी दिनुभयो ।
सबै भन्दा गम्भीर अर्थात तेस्रो परिदृश्यमा यदि यो अवरोध वर्षको अन्त्यसम्मै कायम रहेमा विश्वव्यापी मुद्रास्फीति ६ प्रतिशत भन्दा माथि पुग्ने र आर्थिक वृद्धिदर २ प्रतिशतमा झर्ने प्रक्षेपण गरिएको छ । यो संकटको मार विकासोन्मुख देशहरूमा सबै भन्दा बढी पर्ने राष्ट्रसंघको ठहर छ । बढ्दो ऋणको भार र बेरोजगारीका कारण ती देशहरूलाई यो क्षति सहन कठिन हुने उहाँले उल्लेख गर्नुभयो ।
महासचिव गुटेरेसले सुरक्षा परिषद्को प्रश्ताव नम्बर २८१७ बमोजिम समुन्द्री मार्गको स्वतन्त्रता तत्काल पुनर्बहाली गर्न सबै पक्षलाई आग्रह गर्नुभएको छ ।










प्रतिक्रिया दिनुहोस्