काठमाडाैं । नेपाली कांग्रेसका विभिन्न तीन वटा समितिको बैठक साेमार बस्दैछ ।
प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएको दुई महिना पुग्नै लाग्दा समेत संसदीय दलको नेता चयन गर्न नसकेर आलोचित बनेको कांग्रेसमा साेमबार तीन छुट्टाछुट्टै बैठक बस्न लागेको हो । साेमबार बस्ने केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा पार्टी सभापति गगन थापाले संसदीय दलको नेताका लागि सहमतिको प्रस्ताव पेश गर्ने र त्यहीँबाट नाम टुङ्ग्याउने तयारी गरिएको छ ।
कार्यसम्पादन समितिको बैठक लगत्तै संसदीय दलको बैठक बस्ने भएकाे हाे । दलको बैठकले नेता चयन सम्बन्धी प्रक्रियालाई अन्तिम रूप दिने र अनुमोदन गर्ने कार्यसूची तय भएको छ । त्यस्तै, साेमबार दिउँसो २ बजे पार्टी केन्द्रीय अनुशासन समितिको बैठक पनि बस्ने भएकाे हाे । केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकले गत फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध बागी बनेका र तिनका समर्थक/प्रस्तावकहरूविरुद्ध परेका उजुरीमाथि छलफल हुने कांग्रेसका एक नेताले बताएका छन् ।
त्यस्तै, निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई सोधिएको स्पष्टीकरणका सम्बन्धमा बैठकले निर्णय गर्ने जनाइएको छ ।










प्रतिक्रिया दिनुहोस्