Logo १४ बैशाख २०८३, सोमबार | Mon Apr 27 2026


वेस्ट बैंक र गाजामा भएकाे स्थानीय तहको निर्वाचनको अन्तिम नतिजा सार्वजनिक


455
Shares

एजेन्सी । प्यालेस्टाइनको केन्द्रीय निर्वाचन आयोगले वेस्ट बैंक र गाजाका १ सय ८३ नगरपालिकाहरूमा भएको स्थानीय तहको निर्वाचनको अन्तिम नतिजा सार्वजनिक गरेको छ ।

आयोगका अध्यक्ष रामी हम्दाल्लाहले अल–बिरेहमा आयोजित पत्रकार सम्मेलनमा निर्वाचन अत्यन्त जटिल परिस्थितिमा भएपनि इमानदारी र पारदर्शिताका साथ सम्पन्न भएको बताउनुभएकाे हाे । उहाँले वेस्ट बैंक र गाजालाई एउटै भौगोलिक एकाइको रूपमा व्यवहार गर्ने प्रयासस्वरूप गाजाको डियर अल–बलाहलाई पनि समावेश गरिएको बताउनुभयो । यद्यपि यसमा ठूला अवरोधहरू थिए ।

हम्दाल्लाहकाअनुसार इजरायली अधिकारीहरूले डियर अल–बलाहमा निर्वाचन सामग्रीहरू लैजान अनुमति नदिएपछि स्थानीय अधिकारीहरूले मतपत्र र बाकसहरू आफैं बनाएर मतदान प्रक्रिया अगाडि बढाएका थिए । आयोगले कूल १० लाख ३० हजार योग्य मतदातामध्ये करिब ५ लाख ५२ हजारले मतदान गरेका थिए । वेस्ट बैंकमा ५६ प्रतिशत र डियर अल–बलाहमा २३ प्रतिशत मतदान भएको थियो। अध्यक्ष हम्दाल्लाहले गाजामा पुराना मतदाता नामावली र चलिरहेको द्वन्द्वको प्रभावका कारण सहभागिता कम भएको बताउनुभएकाे छ ।

गाजामा करिब २० वर्षयता पहिलो पटक स्थानीय तहको निर्वाचन भएको हो । हमासका प्रवक्ता हाजेम कासिमले निर्वाचनले प्यालेस्टाइनका राजनीतिक संस्थाहरूलाई पुनर्जीवित गर्नुपर्ने आवश्यकता औंल्याएको र लामो समयदेखि रोकिएको संसदीय तथा राष्ट्रपतीय निर्वाचनको माग गर्नुभयाे ।