काठमाडौं । बढ्दो जीवनयापन खर्च र सार्वजनिक सेवाको अवस्थाप्रति असन्तुष्टि जनाउँदै इटालीमा देशव्यापी प्रदर्शन भएको छ ।
इटालीका ६० भन्दा बढी सहरमा मजदुर तथा विभिन्न समूहले प्रदर्शनमा सहभागिता जनाएका थिए । इटालीको ट्रेड युनियन युनियोने सिन्डाकाले दी बासे (यूएसबी) ले आह्वान गरेको आमहडतालका क्रममा प्रदर्शन भएको समाचार संस्था एएनएसएले जनाएको छ ।
प्रदर्शनमा १५ लाख मानिस सहभागी भएको युनियनले दाबी गरेको छ । तर इटालीको गृह मन्त्रालयले भने प्रदर्शनमा करिव दुई लाख ५५ हजार मानिस सहभागी भएको जनाएको छ । यसैबीच, प्रदर्शनपछि शनिवार पनि राजधानी रोमस्थित प्रसिद्ध कोलोसियम आसपास प्रदर्शनकारीले धर्ना जारी राखेका थिए । युरोपका अन्य प्रमुख शहरहरूमा पनि शनिबार प्रदर्शनका गतिविधि भएका छन् ।
प्रदर्शनकारीहरूले जीवनयापनको अवस्था र सार्वजनिक संस्थासँग सम्बन्धित विभिन्न विषयमा असन्तुष्टि व्यक्त गरेका थिए । सामाजिक सञ्जालमार्फत विभिन्न स्थानमा भेला हुन आह्वान गरिएपछि केही सहरमा प्रहरीले सुरक्षा व्यवस्था थप कडा बनाएको जनाइएको छ ।









प्रतिक्रिया दिनुहोस्