काठमाडाैं । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाकाे निर्माणमा ढिलाइ भएको छ ।
भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्माणाधीन रङ्गशाला ठेक्का म्याद सकिन आठ महिना बाँकी हुँदा ५० प्रतिशत मात्रै काम सम्पन्न भएको हो । २०८१ सालको असारमा ३० महिनामा काम सम्पन्न गर्नेगरी भरतपुर महानगरपालिकाले हिमालयन कालिञ्चोक बिबीआर जेभीलाई ठेक्का दिएको थियो । २०८३ साल पुस २२ भित्र काम सक्नेगरी कुल ७५ करोड ५० लाख ९१ हजार १ सय ८९ रुपैयाँमा ठेक्का सम्झौता भएको थियो ।
महानगरपालिकाका डिभिजनल इन्जिनियर सन्तोष आचार्यले अहिलेसम्म एउटा टावरको काम लगभग सकिएको बताउनुभयाे । अर्को टावरको दोस्रो तलाको ढलान भएको र चारवटा प्यारापिटमध्ये एउटाको काम सकिएको उहाँकाे भनाइ छ । दुई वटाको ढलान भएको र बाँकी एउटाको काम शुरू भएको हाे । मैदान निर्माण शुरू गरिएको छ । मैदानमा पाँच वटा पिच बनाउने तयारी भइरहेको हाे । यससँगै मैदानसम्म पुग्ने बाटो, मैदान र पिच बनाउने कामसँगै अघि बढेको छ । साथै भूमिगत पावर केवल र प्लम्बिङ लगायतका काम भइरहेको छ ।
महानगरका कार्यवाहक प्रमुख चित्रसेन अधिकारीले काम छिटो गर्न र समयमा सक्न निर्माण कम्पनीलाई ताकेता गरिरहेको बताउनुभयो । धुर्मस–सुन्तली फाउन्डेसनले रङ्गशाला निर्माण गर्न नसकेपछि महानगरपालिकालाई हस्तान्तरण गरेको थियो । याेसँगै महानगरपालिकाले प्रदेश र संघसँग सहकार्य गरेर काम अघि बढाएको हो ।









प्रतिक्रिया दिनुहोस्