Logo ५ बैशाख २०८३, शनिबार | Sat Apr 18 2026


सम्पदा र संस्कृतिको संरक्षणमा लगानी बढाउनुपर्नेमा पर्यटनमन्त्री श्रेष्ठको जोड


0
Shares

काठमाडाैं । वागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री सुरेश श्रेष्ठले नयाँ मठमन्दिर निर्माणमा भन्दा विद्यमान सम्पदा र संस्कृतिको संरक्षणमा लगानी बढाउनुपर्नेमा जोड दिनुभएको छ ।

शनिवार काठमाडौंमा आयोजित ‘सम्पदा संरक्षण र पर्यटन प्रवद्र्धनः समृद्धिको आधार’विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले यस्तो बताउनुभएको हो ।

चालु आर्थिक वर्ष २०८२/८३ को बजेटमा मठमन्दिर निर्माणमा प्राथमिकता दिएको भएपनि मौलिक सम्पदाको संरक्षणमा लगानी न्यून रहेको उहाँको भनाइ छ । उहाँले भएका सम्पदाको संरक्षणलाई प्राथमिकता दिन सके मात्रै सांस्कृतिक धरोहर जोगाउन सकिने बताउनु भयो । उहाँले संस्कृति र सम्पदा संरक्षणप्रति नवयुवा पुस्तामा चासो नहुनु चिन्ताको विषय भएको बताउनु भयो ।

उहाँले सांस्कृति पर्व एवं सम्पदाको महत्वबारे आउने पुस्तालाई बुझाउन आवश्यक रहेको पनि बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘अहिले आर्थिक वर्ष २०८२/८३ को बजेट हेर्दा हामीले धेरै मठमन्दिरहरु बनाइरहेका छौँ । तर हामीसँग भएका सम्पदाहरुको संरक्षणमा कम लगानी भएको मलाई चाहीँ महशुस भएको छ । हामीले बनाउनेभन्दा पनि भएको कुरालाई संरक्षण गर्न सक्यौँ भने राम्रो हुन्छ । काठमाडौं उपत्याकाको ठाउँ ठाउँमा हामीसँग सम्पदा छन् । सम्पदा छन् तर हामीलाई ती सम्पदाको महत्व बुझिसकेका छैनौँ ।

अर्को कुरा यी सम्पदाहरुको संरक्षण गर्न सक्छौँ कि सक्दैनौँ भनेर मलाई चाँही एकदमै चिन्ता लागेको छ । हाम्रो पुस्ताले संस्कृति र सम्पदाको संरक्षण गर्न लागि परेका छौँ । तर हामी पछाडिको पुस्ताले त्यसमा ध्यान दिने हो कि नदिने हो । यो एकदमै चिन्ताको विषय बनिरहेको छ । अहिले काठमाडौं उपत्यकामा हुने विभिन्न जात्राहरुमा समेत नयाँ पुस्ताको उपस्थिति एकदमै कम देखिन्छ । रथ जात्राहरु हुन्छन् । हामलिे रथ तान्ने कुरामा युवापुस्तालाई प्रेरित गर्न सकेनौँ भने हाम्रो सम्पदा र संस्कृति जोगिन्छ त ?’
उहाँले काठमाडौं उपत्यकामा सञ्चालन हुने विभिन्न जात्रा तथा रथयात्रामा युवापुस्ताको सहभागिता घट्दै गएको उल्लेख गर्दै यसले सम्पदा संरक्षणमा चुनौती बढ्दै गएको समेत बताउनु भयो ।