काठमाडाैं । सार्वजनिक लेखा समितिको सभापतिमा नेपाली कांग्रेसका उम्मेदवार भरतबहादुर खड्का सर्वसम्मत रुपमा निर्वाचित हुनुभएको छ ।
शुक्रबार भएको समितिको बैठकमा ज्येष्ठ सदस्य सीताराम साहले खड्का बाहेक अरु कसैको उम्मेदवारी नभएको भन्दै सर्वसम्मत रुपमा निर्वाचित भएको घोषणा गर्नुभएकाे हाे । ज्येष्ठ सदस्य साहले सभापतिको उम्मेदवारीका लागि एकमात्र प्रश्ताव आएको बताउनुभयो । खड्कालाई सभापतिका लागि मोहनबहादुर आचार्यले प्रश्ताव गर्नुभएको थियो । खड्काले निर्वाचित गरियोस् भन्ने एक मात्र प्रश्तावको सूचना प्राप्त भएको भन्दै शाहले निर्वाचित भएको घोषणा गर्नुभयो ।
निर्वाचित भएपछि समिति सभापति खड्काले लेखा समिति धेरै महत्वपूर्ण समिति भएको र आफूले जवाफदेहीता र जिम्मेवारी प्राप्त गरेको बताउनुभएकाे छ । विगतको अनुभव, योग्यता क्षमतालाई प्रयोग गरेर काम गर्ने बताउनुभयो । उहाँले आर्थिक सुशासन र वित्तीय अनुशासनलाई आफ्नो कार्यकालको प्रमुख एजेण्डा बनाउने स्पष्ट पार्नुभएकाे छ।
सभापति खड्काले विगतमा देखिएका केही विसंगतिहरू अब दोहोरिन नदिने प्रतिवद्धता जनाउँदै संघदेखि स्थानीय तहसम्म व्यापक सुधार आवश्यक रहेको औंल्याउनुभयो । विभिन्न सरकारी निकायहरूमा पारदर्शिता, जवाफदेहिता र अनुशासन कायम गर्नुपर्नेमा जोड दिँदै उहाँले त्यसका लागि समिति सक्रिय रूपमा लाग्ने बताउनुभएकाे छ ।
सभापति खड्काले आर्थिक अनुशासन र वित्तीय सुशासन कायम गर्नुको कुनै विकल्प नभएकाे र यहि आधारमा मुलुकको दिगो विकास सम्भव हुने धारणा व्यक्त गर्नुभयो । साथै, नागरिकले प्रत्यक्ष रूपमा सुशासनको अनुभुति गर्ने वातावरण सिर्जना गर्न आफूले प्राथमिकता दिने पनि उहाँको भनाइ छ ।









प्रतिक्रिया दिनुहोस्