Logo २९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026


इन्धन मूल्यवृद्धिले यातायात भाडा समायोजन गर्न महासंघको माग


416
Shares

काठमाडौँ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढ्दै जाँदा सार्वजनिक यातायात क्षेत्र गम्भीर संकटमा परेको भन्दै भाडा समायोजन गर्न सरकारसँग माग गरेको छ।

महासंघका महासचिव डेकनाथ गौतम ले बिहीबार विज्ञप्ति जारी गर्दै डिजेल र पेट्रोलको मूल्यवृद्धिले यात्रुवाहक तथा मालवाहक सवारी सञ्चालनमा ठूलो प्रभाव पारेको बताएका छन्।

मध्यपूर्वमा अमेरिका, इजरायल र इरान बीचको द्वन्द्वका कारण इन्धनको मूल्य बढ्दा सञ्चालन खर्च अत्यधिक बढेको तर भाडा समायोजन नहुँदा व्यवसायीहरू मारमा परेको महासंघले जनाएको छ।

महासंघका अनुसार २०६५ सालदेखि लागू गरिएको वैज्ञानिक भाडा समायोजन प्रणालीअनुसार इन्धन मूल्य बढेपछि स्वचालित रूपमा भाडा समायोजन हुनुपर्ने भए पनि हालसम्म प्रभावकारी कार्यान्वयन हुन सकेको छैन। त्यसैले तत्काल भाडा समायोजन गर्न वा इन्धन मूल्यवृद्धि फिर्ता लिन सरकारसँग आग्रह गरिएको छ।

साथै, महासंघले विषम परिस्थितिमा सेवा निरन्तरता दिन व्यवसायीबीच सहकार्य र एकता आवश्यक रहेको औंल्याएको छ। सदस्य संस्थाहरूलाई तोकिएको भाडाभन्दा कममा अस्वस्थ प्रतिस्पर्धा नगर्न र यात्रुको चापअनुसार सेवा सञ्चालन गर्न समेत अनुरोध गरिएको छ।

दीर्घकालीन समाधानका लागि वैकल्पिक व्यवस्था ल्याउनुपर्नेमा जोड दिँदै महासंघले पटक–पटकको मूल्यवृद्धिको प्रवृत्ति अन्त्य गर्न सरकारलाई आग्रह गरेको छ।