काठमाडौं ।
नयाँ वर्ष २०८३ को पहिलो कारोबार दिन बुधबार नेप्से परिसूचक बढेर बन्द भएको छ ।
अघिल्लो कारोबार दिन सोमबार सामान्य अंक घटेर बन्द भएको नेप्से परिसूचक आज भने ३३.२७ अंक बढेर २८६६.८७ विन्दुमा पुगेको छ ।
नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । गत सोमबार ८ अर्ब ६६ करोड रुपैयाँको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३४४ स्टकको १ लाख २३ हजार ३५९ पटकको कारोबारमा १० अर्ब ५३ करोड ७० लाख ८ हजार रुपैयाँबराबरको २ करोड ६४ लाख ३८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।
आज ६ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । यस दिन रिज लाइन इनर्जी, सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक, होटल फरेष्ट इन, सिन्धु विकास बैंक, पाल्पा सिमेन्ट इण्डष्ट्रीज र सुपर खुदी हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो ।
त्यस्तै, यस दिन शिखर पावर डेभलपमेन्टको शेयरमूल्य करिब १० प्रतिशत बढेको छ भने सोलु हाइड्रोपावरको शेयरमूल्य साढे ८ प्रतिशतभन्दा बढी बढेको छ । कारोबारमा आएको रिलायन्स स्पिनिङ्ग मिल्सको शेयरमूल्य यस दिन साढे ५ प्रतिशतभन्दा बढी घटेको छ । कारोबार रकमका आधारमा आज शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ ।
सो कम्पनीको यस दिन ५८ करोड ९ लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ भने नेशनल हाइड्रोपावर कम्पनीको ५७ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ भने रिलायन्स स्पिनिङ्ग मिल्सको कारोबार रकम ४९ करोड रुपैयाँ नाघेको छ । बुधबार १३ वटै उपसमूहको परिसूचक बढेको छ ।
जसमध्ये होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक ३.१६ प्रतिशत बढेको छ । त्यस्तै, जलविद्युत र व्यापार उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ भने बैंकिङ्ग, विकास बैंक र वित्त उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ ।









प्रतिक्रिया दिनुहोस्