शंकर बरूवाल-संवाददाता
रामेछाप । रामेछापको सदरमुकाम मन्थली भएर बहने तामाकोसी नदीमा जेटबोट सेवा संचालनमा आएको छ ।
आन्तरिक पर्यटकलाई लक्षित गर्दै तामाकोसी एड्भेन्चर प्रा.लि.ले नदीमा व्यावसायिक रूपमा जेटबोट सञ्चालनमा ल्याएको हो । कोसी र नारायणीजस्ता ठूला नदीमा सीमित रहेको जेटबोटमार्फत नदीको यात्रा अब रामेछापवासी र यहाँ घुम्न आउने पर्यटकले तामाकोसीमा गर्न पाउनेछन् । करिब ७० लाख रुपैयाँको लगानीमा सञ्चालनमा ल्याइएको जेटबोट तामाकोसी नदीको मन्थली खण्डमा शुरु गरिएको छ ।
बिदा मनाउन मन्थली पुग्नेहरूका लागि जेटबोट मुख्य आकर्षण बन्न थालेसँगै जिल्लाको समग्र पर्यटन विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ । नदीको बहाव र छालमा तीव्र गतिमा गुड्ने जेटबोटमा सवार हुँदा बेग्लै रोमाञ्चकता मिल्ने पर्यटकहरूको अनुभव छ । यात्रु तथा पर्यटकको सुरक्षाका लागि लाइफ ज्याकेट र दक्ष चालकको व्यवस्था गरिएको संचालकको दावी छ ।
र्याफ्टिङको समेत सफल परीक्षण भइसकेको तामाकोसीमा जेटबोटको सञ्चालनले मन्थलीलाई ‘रिभर एड्भेन्चर हब’का रूपमा स्थापित गर्ने सम्भावना बढेको हाे ।









प्रतिक्रिया दिनुहोस्