काठमाडौं ।
नेपाल उद्योग वाणिज्य महासंघमा चुनावी सरगर्मी बढेर गएको छ ।
महासंघको यही चैत २९ र ३० गते हुने साधारणसभा तथा निर्वाचनका लागि उपाध्यक्षसहितका विभिन्न पदमा उम्मेदवारी दर्ता गर्ने क्रम बढेको छ । आज वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठबाट समर्थन पाएको शिवप्रसाद घिमिरेसहितको प्यानलले उम्मेदवारी दर्ता गराएको छ ।
घिमिरेले वस्तुगततर्फको उपाध्यक्षमा आफ्नो उम्मेदवारी दर्ता गर्नुभएको छ भने एसोसिएटतर्फको उपाध्यक्षमा प्रबलजंग पाण्डे र जिल्ला÷नगरतर्फ उपाध्यक्षद्वयमा दिलसुन्दर श्रेष्ठ र कृष्णप्रसाद शर्माले उम्मेदवारी दिनुभएको छ । घिमिरे समूहले १६ सदस्यीय पदका उम्मेदवारसहितको समूह केही दिन अघि सार्वजनिक गरेको थियो ।
उम्मेदवारी दर्ता पछि वस्तुगततर्फको उपाध्यक्ष घिमिरेले आफूतिर मतदाताको आकर्षण रहेको र चुनाव जित्ने निश्चित भएको बताउनु भयो । उहाँले चुनाव जितेपछि महासंघलाई साझा बनाउन सचिवालय सुधार गर्ने समेत बताउनु भयो ।
उहाँले सरकार पनि काम गर्न उत्साहित भएकाले महासंघमा जुझारु नेतृत्व जरुरी रहेको बताउनु भयो । राजनीतिक रुपमा मुलुकले निकास पाइसकेकाले समृद्धीतर्फ अघि बढाउन आगामी नेतृत्वले काम गर्ने बताउनु भयो ।
यता, महासंघका हालका अध्यक्ष चन्द्र ढकालको समर्थन पाएका वरिष्ठ उपाध्यक्षका प्रत्याशि हेमराज ढकाल समूह पनि मैदानमा छ । ढकाल समूहकी एसोसिएट तर्फकी उपाध्यक्ष उम्मेदवार ज्योत्सना श्रेष्ठसहितको समूहले बिहीबार नै उम्मेदवारी दर्ता गराएको थियो ।
ढकाल समर्थित समूहमा सदस्यहरूमा अविनास बोहोरा, अम्बिका शर्मा लामिछाने, बटु लामिछाने, बलराम सापकोटा, भरत रानाभाट, देशबन्दु बस्नेत, गोपाल खनाल, जमुना पौडेल, जयस श्रेष्ठ, रामराजा श्रेष्ठ, रामशरण थपलियालगायत रहेका छन् ।








प्रतिक्रिया दिनुहोस्