काठमाडाैं । लगातार तेस्रो पटक विश्वकपमा छनोट हुन नसकेपछि इटाली फुटबल संघका अध्यक्ष गेब्रिएल ग्राभिनाले पदबाट राजीनामा दिएका छन् ।
रोममा रहेको संघको मुख्यालयमा भएको बैठकपछि ग्राभिनाले देशको शीर्ष फुटबल अधिकारीको पदबाट राजीनामा दिने घोषणा गरेका हुन् । खेलकुदमन्त्री एन्ड्रिया अबोदीले पनि ७२ वर्षीय ग्राभिनलाई राजीनामा दिन आह्वान गर्नुभएको थियो । ग्राभिना सन् २०१८ को अक्टोबरमा इटाली फुटबल संघको अध्यक्षमा निर्वाचित भएका थिए ।
यसअघि प्रशिक्षण टोलीमा रहेका इटालीका पूर्वकप्तान जियानलुइजी बुफोनले पनि राजीनामा दिएका छन् । विश्वकपको युरोपेली प्लेअफ छनोटमा मंगलबार इटाली टाइब्रेकरमा बोस्निया एन्ड हर्जगोभिनासँग ४–१ गोलले पराजित भएको थियो । यो हारसँगै चार पटकको विजेता इटाली लगातार तेस्रो पटक विश्वकपमा पुग्न असफल भएको थियो ।
अब इटाली फुटबल संघको नयाँ नेतृत्वका लागि आगामी जुन २२ तारिखमा निर्वाचन हुने भएकाे हाे। नयाँ नेतृत्वका लागि इटाली ओलम्पिक कमिटीका पूर्वअध्यक्ष जियोभानी मालागो सबै भन्दा अघि छन् ।








प्रतिक्रिया दिनुहोस्