Logo १० चैत्र २०८२, मंगलबार | Tue Mar 24 2026


रामेछाप उद्योग वाणिज्य संघमा अध्यक्षबाहेक सबै निर्विरोध


117
Shares

रामेछाप । रामेछाप उद्योग वाणिज्य संघको आगामी नेतृत्वका लागि अध्यक्ष बाहेक सबै पदमा निर्विरोध चयन भएको छ।

संघको ९औँ जिल्ला अधिवेशनका क्रममा मंगलबार भएको मनोनयन दर्तामा १५ सदस्यीय कार्यसमिति मध्ये १४ पदमा एकल उम्मेदवारी परेपछि पदहरूमा निर्विरोध चयन भएको हो।

अध्यक्षमा भने दुई जनाको उम्मेदवारी परेसँगै चुनावी प्रतिस्पर्धा हुने भएको छ। निवर्तमान महासचिव कुमार श्रेष्ठले अध्यक्ष पदमा मनोनयन दर्ता गराउनुभएको छ। उहाँलाई चुनौती दिन नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) निकट व्यवसायीहरूको संयुक्त समूहबाट निवर्तमान वरिष्ठ उपाध्यक्ष प्रकाश कुमार श्रेष्ठ मैदानमा उत्रिनुभएको छ।

निर्वाचन समितिका अनुसार अध्यक्ष बाहेकका अन्य पदाधिकारीमा सर्वसम्मत चयन भएको छ। जसमा वरिष्ठ उपाध्यक्षमा आकाश रिजाल, वाणिज्य उपाध्यक्षमा सुरेश उदास, उद्योग उपाध्यक्षमा राम सुदिश शाह सोनार, महासचिवमा यज्ञ प्रसाद सुवेदी, सचिवमा सिताराम लोहार र कोषाध्यक्षमा झनकबहादुर बुढाथोकी (उत्तम) रहनुभएको छ।

यसैगरी, कार्यसमिति सदस्यहरूमा पनि निर्विरोध चयन प्रक्रिया सम्पन्न भएको छ। संयुक्त व्यवसायी समूहबाट आजीवन कार्यसमिति सदस्यमा वासुदेव फुयाँल पुनः चयन हुनुभएको छ भने महिला सदस्यमा मञ्जु माझी निर्विरोध हुनुभएको छ।

खुल्ला सदस्यतर्फ श्याम कुमार श्रेष्ठ, किशोर पौडेल, सुरोज कुमार तामाङ, देवचन्द्र कठेत र राजु श्रेष्ठ निर्विरोध हुनुभएको छ। यस पटक पहिलो पटक एसोसियट सदस्यका रूपमा टिकाराज आरणले कार्यसमितिमा प्रवेश पाउनुभएको छ। संघको नयाँ नेतृत्वका लागि आगामी फागुन २० गते निर्वाचन हुने कार्यक्रम तय भएको निर्वाचन समितिले जनाएको छ।