Logo ६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026


सुदूरपश्चिमकाे थारू बस्तीमा भजहर पूजाको रौनक (भिडियाे रिपाेर्ट)

भजहरमा महिलाको सक्रिय सहभागिता ‍‍‍‍...

182
Shares

कैलाली । सुदूरपश्चिममा खेतीपातीको कामबाट केही फुर्सद मिल्ने गर्मीयाममा रुखको छहारीमुनि बसेर मनाइने भजहर पर्वको रौनकले यतिबेला थारु बस्तीहरु पर्वमय बनेका छन् । प्रकृतिपूजक थारू समुदायमा मौसम परिर्वतनका समयमा रोगव्याधि नलागोस् भन्ने कामनासहित भजहर पूजा गर्ने परम्परा कायम रहेकाे हाे ।

सुदूरपश्चिममा होरी सकिएपछि बसन्त ऋतु शुरु नहुँदासम्म भजहर पर्व मनाईन्छ । गाउँ भन्दा केही टाढा-प्रकृतिको काखमा पुगेर गरिने यो पूजालाई बर्का भजहर वा चिरै भजहर पनि भन्ने गरिन्छ । भजहरको दिन बिहानै गाउँका गुरुवामार्फत नवदुर्गाको पूजा गरिन्छ भने दिनभर महिलाहरू जंगल छेउमा बसेर सामूहिक रूपमा खानपिन र रमाइलो गर्छन् । साँझपख मात्र सबैजना घर फर्किने चलन रहेको हाे । यो परम्परा कैलालीसहित विभिन्न जिल्लामा प्रचलित छ । यस क्रममा गाउँका गुरुवाले गाउँघरमा रोगव्याधि नआओस्, बालबालिका सुखी रहुन, गाई, गोरु र भैंसीजस्ता पशुचौपायामा रोग नलागोस् र खेतीपातीमा किराको प्रकोप नहोस् भनी पूजा गर्ने चलन छ । विशेषगरी बालबालिका र घरपालुवा पशुलाई रोगबाट जोगाउने विश्वाससहित यो पूजा गर्ने गरिएको हाे ।

भजहरलाई पौराणिक कथा सँग पनि जोडेर हेर्ने गरिन्छ । रामायणकालीन कथाअनुसार रावणको कब्जाबाट अयोध्या फर्किएपछि श्रीरामले गर्भवती सीतालाई पुनः वनवास पठाउँदा अयोध्यावासीले उनलाई घरबाहिर नै भोजन गराएका थिए । सोही घटनाको स्मरणस्वरूप थारू समुदायमा भजहर मनाउने परम्परा विकसित भएको अग्रजहरू बताउँछन् । समयसँगै यसमा दुर्गा पूजाको प्रचलन पनि थपिँदै गएको छ । गर्मीयाममा रोग र महामारीको जोखिम बढ्ने भएकाले माता सीता र दुर्गाको आराधना गर्दै भजहर मनाउने गरिन्छ ।

भजहरमा विशेषगरी महिलाहरूको सक्रिय सहभागिता रहन्छ । महिलालाई खुशी राख्न सके परिवार र समाज नै समृद्ध हुने विश्वासले पनि यस पर्वलाई महत्त्व दिइन्छ । दैनिक घरधन्दा र खेतीपातीमा व्यस्त महिलाहरूलाई स्वतन्त्र रूपमा भेटघाट गर्ने, रमाउने र दुःख–सुख साट्ने अवसर भजहरले प्रदान गर्ने गरेको छ ।

परम्परा, विश्वास र सामूहिकताको संगमका रूपमा रहेको भजहर पूजा थारू समुदायको मौलिक सांस्कृतिक पहिचान हो । रोगव्याधिबाट बच्ने कामनासँगै सामाजिक एकता, आपसी सद्भाव र महिलाहरूको सहभागितालाई बलियो बनाउने यो परम्परा आधुनिक समयमै पनि उत्तिकै सान्दर्भिक र जीवित रहेको देखिन्छ ।

विस्तृतमा भिडियाे रिपाेर्ट हेर्नुहाेस्: