Logo २ चैत्र २०८२, सोमबार | Mon Mar 16 2026


एनआरएनएमा १३ वर्षपछि सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन

हेमराज शर्मालाई अध्यक्षको जिम्मेवारी, कूल ६९ पदमा सर्वसम्मत रुपमा नेतृत्व चयन

507
Shares

काठमाडाैं । लामो समयदेखिको विवाद मत्थर पार्दै गैरआवासीय नेपाली संघ (एनआरएनए)मा सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन भएको छ ।

आन्तरिक खिचातानी र पटक–पटकको विभाजनपछि अन्ततः काठमाडौंमा जारी संघको १२औं एकता महाधिवेशनबाट डा. हेमराज शर्मा सर्वसम्मत रूपमा अध्यक्ष पदमा चयन हुनुभएको हो । अध्यक्षका अन्य दुई उम्मेदवारहरु रोविन शेरचन र रविन बज्राचार्यले अन्तिम समयमा आफ्नो उम्मेदवारी फिर्ता लिएपछि शर्मा निर्विरोध अध्यक्ष बन्ने बाटो खुलेको थियाे। जापानका व्यवसायी शेरचन र बेलायतका शर्माबीच मुख्य प्रतिस्पर्धा रहे पनि एकताका लागि अर्कोपटक अध्यक्षमा सबैले सहयोग गर्ने प्रतिबद्धतासँगै शेरचनले उपाध्यक्षमा सहमति जनाउनुभएको छ ।

नयाँ नेतृत्वको औपचारिक घोषणा भने निर्वाचन समितिले साेमबार गर्ने जनाएको हाे । यसअघि संघका सात अध्यक्षमध्ये चारजना प्रतिस्पर्धात्मक निर्वाचनमार्फत चयन भएका थिए । उपेन्द्र महतो, जीवा लामिछाने र देवमान हिराचन सर्वसम्मत रूपमा अध्यक्ष बनेका थिए । डा. शर्माको चयनसँगै करिब १३ वर्षपछि पुनः एनआरएनएमा अध्यक्ष पदमा सर्वसम्मत नेतृत्व स्थापित भएको हो । महाधिवेशनका क्रममा संघको नयाँ कार्यसमितिका अन्य पदहरूमा पनि सहमति जुटेको बताइएको छ ।

जस अनुसार अध्यक्षसहित कूल ६९ पदमा सर्वसम्मत नेतृत्व चयन भएको छ । महाधिवेशनको साेमबार प्रधानमन्त्री सुशीला कार्कीले समापन गर्ने कार्यक्रम रहेको हाे।