Logo २५ फाल्गुन २०८२, सोमबार | Mon Mar 9 2026


सुदुरपश्चिममा होरीको रौनक (भिडियाे रिपोर्ट)


91
Shares

बिराज रोस्यारा, कैलाली ।
प्रतिनिधिसभा सदस्य निर्वाचन सकिएसँगै सुदूरपश्चिम प्रदेशका रानाथारू समुदायमा होरीको रौनक बढेको छ ।

होरीमा बज्ने ढोल, गाउने गीत, होरी नृत्यका कारण रानाथारू बस्ती होरीमय बनेका छन्  । माघ पूर्णिमादेखि फागुन पूर्णिमाको ८ दिनपछिसम्म मनाईने होरी मंगलबार सकिँदै छ । यतिबेला कैलाली, कञ्चनपुर सहितका रानाथारू बस्ती होरीको गीत र नाचगानले गुञ्जायमान बनेका छन् । होरी पर्व रानाथारूको सबैभन्दा ठूलो पर्व हो । रानाथारू समुदायमा जिन्दा र मरी गरेर दुई प्रकारले होरी मनाउने चलन छ ।

माघ पूर्णिमादेखि होलीका दहनको समयसम्म मनाइने होरी पर्वलाई जिन्दा होरी भन्ने गरिन्छ  । जिन्दा होरीको अवधि एक महिना रहने गरेको छ । होलिका दहनपछि आठ दिनसम्म मरी होरी मनाइने गरिन्छ  । मरी होरी सुरु भएको बेला रङ, अबिर खेल्ने र फगुवा दिने चलन रहेको छ । मरी होरीमा पधना, भलमनसा, चाकरको घरमा होरीको टीका लगाइसकेपछि होरी नाच नाच्ने र रमाउने, मिठो मिष्ठान खाने चलन रहेको छ  ।

मरी होरीमा दिउँसोको समयमा मात्रै होरी नाँच नाच्ने चलन छ । मरी होरीको अन्तिम दिनलाई खख्डेहरा भन्ने गरिन्छ । गाउँभरिका मानिसले बिहानै खख्डेहरा फुटाएपछि एक महिना आठ दिनसम्म मनाइने होरीको विधिवत् रूपले समापन हुने गरेको स्थानीयको भनाई छ ।