Logo २० फाल्गुन २०८२, बुधबार | Wed Mar 4 2026


मतगणना स्थलको सुरक्षामा कडा निगरानीः तारजाली र सिसीटिभी क्यामेरा जडान सम्पन्न


507
Shares

काठमाडाैं । मतदान सम्पन्न भएलगत्तै शुरु हुने मतगणना कार्यलाई सुरक्षित, विवादरहित र छिटोछरितो बनाउन निर्वाचन आयोगले देशभरका मतगणना स्थलहरूमा कडा सुरक्षा र प्राविधिक व्यवस्था मिलाएको निर्वाचन आयोगले जनाएको छ ।

आयोगका सचिव कृष्णबहादुर राउतकाअनुसार देशैभरका मतगणना स्थलहरूको तयारी पूरा भइसकेको छ । विगतका निर्वाचनहरूमा मतगणनाका क्रममा मतपत्र च्यात्ने वा हुलहुज्जत हुने जस्ता घटनाहरूलाई मध्यनजर गर्दै यसपटक मतगणना स्थलमा अनिवार्य रूपमा तारजाली र सिसीटिभी क्यामेराको व्यवस्था गरिएको बताउनुभयो ।

यी सबै व्यवस्थापनका कार्यहरू सम्बन्धित मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरूको कार्यालयबाट सम्पन्न गरिएको सचिव राउतले बताउनु भयो । आयोगले मतगणनासँग सम्बन्धित ऐन, नियमावली र निर्देशिकालाई टेकेर थप परिपत्र समेत जारी गरिसकेको छ ।

उहाँले भन्नुभयो, ‘ हाम्रो मतगणनासँग सम्बन्धित विषय हाम्रो ऐन, नियमावली, निर्देशिका र आयोगले फेरि परिपत्र पनि जारी गरिसकेको अवस्था छ । त्यो कानूनी व्यवस्थाअनुसार अहिले अलिकति मतगणनालाई छिटो बनाउनको लागि थप प्राविधिक व्यवस्थाहरु पनि त्यहाँ गरेका छौँ र मतगणना स्थलको सुरक्षाको सन्दर्भमा तारजाली राख्ने सिसीटिभी राख्ने लगायतका सबै व्यवस्थाहरु र उपयुक्त किसिमको हल खोजेर सोहीअनुसारको व्यवस्थापनको कार्य पनि हामीलाई हिजोसम्म सबै जिल्लाहरुबाट रिपोर्ट भइसकेको छ ।

त्यो किसिमको व्यवस्थापन सम्बन्धित मुख्य निर्वाचन अधिकृतज्युहरुको कार्यालय र निर्वाचन अधिकृतज्युहरुको कार्यालयबाट भइसकेको अवस्था छ ।’ मतगणना कार्यलाई विगतको तुलनामा छिटो सम्पन्न गर्नका लागि थप प्राविधिक व्यवस्थाहरू समेत गरिएको सचिव राउतले बताउनु भयो ।