Logo १९ फाल्गुन २०८२, मंगलबार | Tue Mar 3 2026


निर्वाचन आउन अब २ दिन बाँकी: निर्वाचन आचारसंहिता कार्यान्वयनमा कडाइ गरिंदै

अनुगमन अधिकृतलाई सुक्ष्म रूपमा निगरानी गर्न आयाेगकाे निर्देशन

117
Shares

काठमाडाैं ।  जेनजी आन्दोलनपछि यहि फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य चुनाव आउन अब २ दिन मत्रै बाँकी रहेको छ ।

निर्वाचन आयोगले निर्वाचन आचारसंहिता कार्यान्वयनमा कडाइ गर्दै अनुगमन अधिकृतहरूलाई सुक्ष्म निगरानी गर्न निर्देशन दिएको हाे । सोमबार संचारकर्मीसँग कुरा गर्दै आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले यस्ताे निर्देशन दिएको बताउनुभयाे। निर्वाचन आचारसंहिताको दफा ३२ बमोजिम तोकिएका अनुगमन अधिकृतहरूलाई आफ्नो जिम्मेवारी कडाइका साथ पालना गर्न निर्देशन दिइएको बताउनुभएको हो ।

प्रवक्ता भट्टराईका अनुसार अनुगमन अधिकृतहरूलाई जिल्लाभित्र सुक्ष्म अनुगमन गर्न र निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ विपरीतका कार्यहरू पाइएमा तत्काल कानूनी कारबाहीको प्रक्रिया अगाडि बढाउन अधिकार प्रत्यायोजन गरिएको बताउनुभयो । जिल्ला आचारसंहिता अनुगमन समितिसँगको सहकार्यमा अनुगमनकर्ताको अधिकार प्रयोग गरी आचारसंहिता उल्लंघन गर्ने जोसुकैलाई पनि कारबाहीको दायरामा ल्याइने आयोगले स्पष्ट पारेको छ । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ र निष्पक्ष बनाउन निर्वाचन आचारसंहिता, २०८२ को प्रभावकारी कार्यान्वयनका लागि जोड दिएको बताउनुभएकाे छ।

आयोगले निर्वाचनलाई स्वतन्त्र, स्वच्छ, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गर्नका लागि सबै सरोकारवालाहरूलाई प्रचलित कानून र आचारसंहिताको पालना गर्न आग्रह समेत गरेको छ । प्रचारप्रसार निषेध अवधिमा गर्न नहुने भनी तोकिएका कुनैपनि गतिविधि नगर्न र नगराउन आयोगले चेतावनी दिएको हाे ।