Logo १६ फाल्गुन २०८२, शनिबार | Sat Feb 28 2026


पाकिस्तान र अफगानिस्तान तनाब


221
Shares

काठमाडौं । पाकिस्तान र अफगानिस्तानबीचको तनाव कम गर्न संयुक्त राष्ट्रसंघसहित अन्तर्राष्ट्रिय समुदायले अपिल गरेका छन् ।

राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले दुवै देशलाई संयमित हुन र तनाव मत्थर पार्न आह्वान गर्नुभएको छ । यस्तै चीनसहित साउदी अरब र कतारले युद्ध रोक्नका लागि प्रयास थालेका छन् ।

उनीहरुको कूटनीतिक अभियान शुरु भएको हो । कतारसँगको समन्वयमा साउदी अरबले पाकिस्तान र अफगानिस्तानबीचको तनाव कम गर्न प्रयास गरिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । मुख्यगरी पाकिस्तान र अफगानिस्तानबीच अवस्था नियन्त्रणभन्दा बाहिर जानबाट रोक्ने प्रयास भैरहेको हो ।

अफगानिस्तानका कार्यवाहक विदेशमन्त्री मौलवी अमिर खान मुत्ताकीले हिजो कतारका प्रमुख वार्ताकार मोहम्मद अल–खुलाइफीसँग टेलिफोन कुराकानी समेत गर्नुभएको खबरमा उल्लेख छ । त्यस्तै साउदी अरबका विदेशमन्त्री राजकुमार फैसल बिन फरहानले पनि पाकिस्तानी समकक्षी इशाक दारसँग टेलिफोन वार्ता गर्नुभएको छ ।

यस्तै चीनले पनि अफगानिस्तान र पाकिस्तानबीच चलिरहेको हिंसात्मक झडप अन्त्य गर्न युद्धविरामको आह्वान गरेको छ । उसले पनि दुवै पक्षसँग संवाद गरिरहेको जनाएको छ । बेइजिङका अनुसार दुवै देशमा सकेसम्म छिटो थप घटना रोक्न आवश्यक छ । चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता माओ निङले हिजो पत्रकार सम्मेलनमा चीनले दुवै पक्षलाई संयमता अपनाउन र शान्त रहन आह्वान गर्नुभएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

पाकिस्तानले काबुलसहित अफगानिस्तानका प्रमुख शहरमा हवाई आक्रमण गरेपछि चीनको प्रतिक्रिया आएको हो । त्यसअघि बिहीबार राति अफगान सेनाले पाकिस्तानी सीमा सेनामाथि आक्रमण गरेको थियो । पाकिस्तानका रक्षामन्त्रीले अफगानिस्तानसँग ‘खुला युद्ध’ को घोषणा गरिसक्नुभएको छ । गएको अक्टोबरमा पनि दुई देशबीच सीमा क्षेत्रमा भएको लडाइँमा ठूलो संख्यामा सैनिक मारिएका थिए । त्यसबेला टर्कीए, कतार र साउदी अरबले युद्धविराम गराए । तर, यो लागू हुन सकेन ।