काठमाडाैं । मुस्ताङमा तापक्रम शून्यमा झरेर चिसो अत्यधिक बढेपनि मुस्ताङमा चुनावी सरगर्मी बढ्दै गएको छ ।
राजनीतिक दल तथा उम्मेदवारहरू प्रचारप्रसारमा व्यस्त भएका हुन्। गत महिनासम्म माथिल्लो मुस्ताङमा तापक्रम माइनस २० डिग्रीसम्म झरेको थियो । तर अहिले पनि त्यहाँ माइनस १० डिग्री र तल्लो मुस्ताङमा माइनस ३ डिग्री तापक्रम छ । प्रतिकूल मौसमका बाबजुद घाँसादेखि नेपाल–चीन सिमानाको कोरला नाकासम्म चुनावी माहोल तातिएको हाे ।
जिल्लामा उम्मेदवारी दिएका ८ दलमध्ये मुख्य रूपमा नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । अन्य दलहरूले पनि चुनाव प्रचारलाई तीव्र बनाएका हुन् । उम्मेदवारहरूले कोरला नाका पूर्वाधार, कृषि आधुनिकीकरण, पर्यटन प्रवद्र्धन, शिक्षा, स्वास्थ्य र सडक सञ्जाल विस्तार तथा जलवायु संकट न्यूनीकरणलाई मुख्य एजेन्डा बनाएका छन् । अलपत्र योजनालाई अघि बढाउने, युवा उद्यमशीलता प्रवर्द्धन गर्ने र भूमिहीनलाई लालपुर्जा उपलब्ध गराउने प्रतिबद्धता समेत जनाएका छन् ।
जिल्ला निर्वाचन कार्यालय मुस्ताङले चुनावको तयारी अन्तिम चरणमा पुगेको जनाएकाे हाे । कर्मचारी व्यवस्थापन, तालिम तथा सुरक्षा योजना कार्यान्वयन भइसकेको छ । चुनावको सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना परिचालन गरिएको कार्यालयले जनाएकाे हाे ।







प्रतिक्रिया दिनुहोस्