Logo १४ फाल्गुन २०८२, बिहिबार | Thu Feb 26 2026


आईसीसी टी-२० विश्वकपकाे’सुपर एट’ मा न्युजिल्याण्डकाे शानदार जित

श्रीलंका भने ६१ रनकाे फराकिलाे अन्तरले पराजित

299
Shares

काठमाडाैं । आईसीसी टी–२० विश्वकप क्रिकेटबाट घरेलु टोली श्रीलंका बाहिरिएको छ ।

श्रीलंकाको कोलम्बोस्थित आर प्रेमदासा स्टेडियममा बुधबार राति भएको ‘सुपर एट’ को खेलमा न्युजिल्यान्डसँग हार बेहोरेको श्रीलंका एक खेल अगावै बाहिरिएको हो । न्युजिल्यान्डले  घरेलु टोली श्रीलंकालाई ६१ रनकाे फराकिलाे अन्तरले पराजित गरेको छ। न्युजिल्यान्डले दिएको १ सय ६९ रनको लक्ष्य पछ्याएको श्रीलंकाले २० ओभरमा ८ विकेट गुमाएर १ सय ७ रन मात्र बनाउन सक्यो । श्रीलंकाका लागि कामिन्दु मेन्डिसले सर्वाधिक ३१ रन बनाए । दुनिथ वेलालगेले २९, कुसल मेन्डिसले ११ तथा पवन रत्नायकेले १० रन बनाएका थिए ।

सन् २०१४ मा टी–२० विश्वकप जितेपछि श्रीलंका अहिलेसम्म सेमिफाइनल पुग्न सकेको छैन । पहिलो जित निकालेको न्युजिल्यान्ड ३ अंकसहित समूह २ को दोस्रो स्थानमा छ । न्युजिल्यान्डको सेमिफाइनल पुग्ने सम्भावना कायम छ । दुवै खेल जितेर ४ अंक जोडेको इङ्ग्ल्यान्ड पहिलो स्थान र सेमिफाइनलमा पुगिसकेको हाे। अब न्युजिल्यान्डले अन्तिम खेल शुक्रबार इङ्ग्ल्यान्डसँग खेल्ने भएकाे छ । साेही खेल जितेमा न्युजिल्यान्ड सेमिफाइनलमा पुग्नेछ । यदि हारेको अवस्थामा पनि अर्को खेलमा श्रीलंकाले पाकिस्तानलाई हराएमा न्युजिल्यान्ड सेमिफाइनल पुग्ने सम्भावना रहनेछ ।

विश्वकप अन्तर्गत पहिलाे खेल बिहीबार दिउँसो सवा ३ बजे वेस्ट इन्डिज र दक्षिण अफ्रिकाबीच हुने भएकाे हाे । यो खेल भारतको अहमदाबादमा हुने भएकाे छ । त्यस्तै, बिहीबार दोस्रो खेल बेलुकी सवा ७ बजे भारत र जिम्बाब्वेबीच भारतको चेन्नईमा हुने भएकाे छ। ‘सुपर–८’ का शीर्ष दुई टोली सेमिफाइनलमा पुग्ने भएका छन् । साथै १०औं संस्करणको टी–२० विश्वकपको फाइनल खेल आगामी मार्च ८ तारिखमा हुने भएकाे हाे ।