Logo १२ फाल्गुन २०८२, मंगलबार | Tue Feb 24 2026


उद्योग खोल्न नेतालाई गुहार्नुपर्ने र खोलेपछि चन्दा दिनुपर्ने व्यवस्था अन्त्य गर्छौंः बालेन्द्र साह


260
Shares

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साहले उद्योग स्थापना गर्न नेताहरूकोमा धाउनुपर्ने र सञ्चालनपछि चन्दा दिनुपर्ने अवस्थाको अन्त्य गर्ने बताउनुभएको छ ।

मंगलवार इटहरीमा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले रास्वपाले उद्योगमैत्री वातावरण निर्माण गर्ने बताउनुभएको हो । पूर्वी क्षेत्र देशकै पहिलो उद्योग–कलकारखाना स्थापना भएको बताउनु भयो । खानेतेलदेखि मरमसलासम्मका उद्योग यहाँ भएपनि नयाँ उद्योगहरु भने खुल्न नसकेको उहाँको भनाई छ । नयाँ उद्योग खोल्नका लागि राजनीतिक र प्रशासनिक झन्झट व्यहोर्नुपर्ने अवस्था रहेको उहाँले बताउनु भयो ।

उहाँकाअनुसार हाल नयाँ फ्याक्ट्री खोल्नुप¥यो भने १० वटा नेतालाई ढोग्नुपर्छ, १० वटा कर्मचारीलाई फकाउनुपर्छ । बल्ल–बल्ल फ्याक्ट्री खुलिहालेपनि चलाउन थालेपछि चन्दा आतंक शुरु हुने गरेको उहाँले बताउनु भयो । अब चन्दा आतंक बन्द हुने उहाँको दाबी छ । उहाँले पुर्वी क्षेत्रलाई उत्पादनमुखी बनाउनुपर्नेमा पनि जोड दिनुभयो ।

पूर्वी तराईका चार जिल्लामा पूर्ण रूपमा धान उत्पादन गर्न सके देशभरका नागरिकलाई खाद्यान्न पुग्ने उहाँको दाबी छ । उहाँले पूर्वी पहाडमा उत्पादन भएको कृषि उपजलाई तराईमा लैजाने बताउनुभयो । साहले पूर्वका धार्मिक तथा सांस्कृतिक स्थलहरू—मुकुलुङ र खुवालुङ—लाई राष्ट्रिय आस्थाका केन्द्रका रूपमा विकास गर्ने पनि दाबी गर्नुभयो । उहाँले भन्नुभयो, ‘चिया ईलामको खानुभयो, खाना बोर्डर पारीको खानुभयो । तपाईहरुले तेह्रथुम, पाँचथरको तरकारी खान पाउनुभएको छैन । हाम्रै पूर्वी पहाडमा उत्पादन भएको तरकारी यही तपाईमा खाना पाइएको छैन । यो दुखदको कुरा हो । यो दुखको समाधान गर्नुपर्छ, त्यसको समाधान गर्ने पार्टी बन्न चाहन्छ, रास्वपा । पुर्वी तराईका ४ वटा जिल्लामा पूर्ण रुपमा धान उत्पादन गर्ने हो भने देशभरीलाई खान पुग्छ । तर विडम्बना यही खान पुगेको छैन । यो दुखलाई समाधान गर्नुपर्छ ।

हाम्रो पूर्वलाई देखाएर पनि पैसा कमाउन सकिन्छ, यहाँ उब्जाउ गरेर पनि पैसा कमाउन सकिन्छ । किराँतहरुको आस्थाको केन्द्र मुकुलुङ, खुवालुङ जस्ता ठाउँहरुलाई ७७ वटै जिल्लाका नेपालीले आस्था राख्न पाउन् । समस्याहरु धेरै छन्, समस्या पनि यही छ । समस्या र समाधानलाई भेटाउने काम भएको छैन, त्यो भेटाउने काम गर्न चाहन्छ, हाम्रो पार्टीले । देशकै पहिलो उद्योग कलकारखाना भएको ठाउँ हो । यहाँनेर खानेतेलदेखि मरमसलाका फ्याक्ट्री, उद्योगहरु छन् । तर जुन बेलामा ती उद्योगहरु खुले, त्यसपछि नयाँ उद्योगहरु खुलेका छैनन् । नयाँ फ्याक्ट्री खोल्नुप¥यो भने १० वटा नेतालाई ढोग्नुपर्छ, १० वटा कर्मचारीलाई फकाउनुपर्छ । अनि बल्ल बल्ल फ्याक्ट्री खुल्छ । त्यो फ्याक्ट्री चलाउन थालेपछि चन्दा आतंक शुरु हुन्छ, अब त्यो पर्दैन । त्यो पर्नेपरि व्यवस्था बनाउन चाहन्छ, राष्ट्रिय स्वतन्त्र पार्टीले ।’
उहाँले पूर्वी क्षेत्रमा सिंचाई, खानेपानी लगायतका व्यवस्था गर्ने पनि बताउनु भयो । उहाँले उदयपुरलाई इण्डोनेसिया वाली र माल्दिभ्स जस्तो विकास गर्न सकिने दाबी गर्नुभयो ।