बीरबहादुर बम, मुग ।
निर्वाचनका बेला उम्मेदवारहरुले मतदाताहरुलाई आश्वासनको पोको बाँड्ने प्रवित्ति पुरानै हो , जुन यसपटक पनि दोहोरिएकै छ ।
विगतमा विभिन्न बिकासे आश्वासन पाएका हिमाली जिल्ला मुगुको सोरु गाउँपालिकाका बासिन्दाले यसपटक भने आफ्नो तत्कालको आवश्यकता पुरा गर्नेलाई मात्र मत दिने अडानमा छन् । उनीहरुको माग व्यक्तिगत भने होईन खोलामा झोलुङ्गे पुल बनाईदिने उमेदवारलाई नै मत दिने उनीहरुको सामुहिक माग छ ।
हिमाली जिल्ला मुगुको सोरु गाउँपालिकाको वडा नम्बर ६ र ९ जोड्ने कुलाहमा रहेको पुरानो झोलुंगेपुल जीर्ण भएको बर्षौ भैसकेको छ । जसका कारण यात्रुहरु जुनसुकै बेला पनि दुर्घटनामा पर्ने खतरा छ । यहाँका वासीन्दाले जोखिमपूर्ण यात्रा गर्नुपर्दा पनि न मर्मत न नयाँ पूल निर्माण गर्ने कुरामा कसैको चासो देखाएका छैनन् ।
मुगुको सोरु गाउँपालिकाबाटै संघ सरकारमा एक र प्रदेशमा दुई–दुई मन्त्री पाइसक्दा पनि यो पूलको अवस्था सुधार हुन सकेन । ४२ वर्ष अगाडि स्विस सरकारको आर्थिक सहयोगमा निर्माण गरिएको यो पुल सोरु गाउँपालिका ६, ७, ८ र ९ का हजारौं स्थानीयका लागि आवतजावतको एकमात्र माध्यम हो ।
पुलको दुवै भागमा टावरमा खिया लागिसकेको छ, लठ्ठाहरू ढिलोचाँडो चुँडिने अवस्थामा पुगेका छन् भने पुलका फलामे पाता र किला फुस्किँदै जाँदा ठूला—ठूला भ्वाङ परेका छन् । स्थानीयले आवतजावतका लागि पुलमा ढुंगा बिछ्याउनु परेको छ । पुलको यस्तो अवस्था भोगेका स्थानीयहरु नेता र पार्टीका गतिविधि देख्दा आक्रोशित हुँदै आएका छन् ।








प्रतिक्रिया दिनुहोस्