Logo ६ फाल्गुन २०८२, बुधबार | Wed Feb 18 2026


संविधान र लोकतन्त्रको रक्षाका लागि मधेसका ८ वटै जिल्लामा काँग्रेसलाई जिताउन निधीको अपिल


65
Shares

काठमाडाैं । नेपाली काँग्रेसका नेता विमलेन्द्र निधीले लोकतन्त्र, संविधान र व्यवस्था खतरमा रहेको भन्दै त्यसको रक्षाका लागि मधेस प्रदेशका सबै जिल्लामा पार्टीलाई जिताउन अपिल गर्नुभएको छ ।

बुधवार धनुषामा आयोजित प्रतिज्ञा सभालाई सम्बोधन गर्दै नेपाली काँग्रेसका नेता निधीले यस्तो बताउनुभएको हो । उहाँले वर्तमान अवस्थामा मुलुकमा जननिर्वाचित सरकार र संसद नरहेको तथा सरकार जनताप्रति पूर्ण रूपमा जवाफदेही नभएको आरोप लगाउनुभयो ।

उहाँले संविधान र लोकतान्त्रिक व्यवस्थाको रक्षा नेपाली काँग्रेसले मात्रै गर्नसक्ने जिकिर गर्नुभयो । निधिले नागरिक अधिकारका लागि पार्टीले विगतदेखि संघर्ष गर्दै आएको स्मरण गराउँदै संविधानमार्फत सबै वर्ग, जातजाति र समुदायको अधिकार सुनिश्चित गर्ने पार्टी नेपाली काँग्रेस भएको दाबी  गर्नुभयो ।

उहाँले मधेशका ८ वटै जिल्लामा सडक, पुल, अस्पताल, उच्च शिक्षा तथा कृषि क्षेत्रको विकासमा थप काम गर्नुपर्ने आवश्यकता औँल्याउनु भयो । उहाँले मधेशको अधिकार र समृद्धिका लागि कांग्रेसले निरन्तर काम गर्दै आएको दाबी गर्दै घर–घरमा पुगेर पार्टीका पक्षमा मतदान गर्न अपिल नेता कार्यकर्ताहरुलाई आग्रह पनि गर्नुभयो । 
उहाँले भन्नुभयो, ‘२१ गते चुनाव छ, अब १५ दिन मात्र छ । हामी यो प्रतिज्ञा गर्छौं की आफ्नो निर्वाचन क्षेत्र र जिल्लामा रुख चुनाव चिन्हलाई जिताउनको लागि प्रतिज्ञा गरौँ । मधेस प्रदेशका ८ वटै जिल्लामा काँग्रेसलाई जिताउन लाग्न आग्रह गर्दछु । यो साधारण र नियमित चुनाव होइन । नेपालमा अहिले जननिर्वाचित सरकार र संसद छैन । जनताद्वारा निर्वाचित संसद र सरकार छैन । यो सरकार जनतप्रति प्रतिवद्ध र जवाफदेही पनि छैन । लोकतन्त्र र संविधान पनि खतरा छ । व्यवस्थामाथि प्रहार भएको छ । त्यसलाई संरक्षण गर्नको लागि पनि चुनावमा काँग्रेसलाई जिताउन महत्वपूर्ण छ । नागरिकको अधिकारको लागि विपी कोईरालाको पालादेखि लड्दै आएको छ । संविधानद्वारा सबै  वर्ग, जातजाति र समुदायको अधिकार सुनिश्चित गर्ने पार्टी नेपाली काँग्रेस नै हो । विकासका लागि नेपाली काँग्रेसको नीति र नेतृत्वले मात्र गर्न सक्छ । मधेशका सबै जिल्लामा कयौँ, सडक र पुल निर्माण गर्न आवश्यक छ । काँग्रेसले मधेशको अधिकार र विकासका लागि लामो समयदेखि काम गर्दै आएको छ । त्यसकारण काँग्रेसलाई मतदान  गर्न सबैलाई घरघरमा गएर आग्रह गर्न म साथिहरुलाई अनुरोध गर्न चाहन्छु । मधेशमा अझै पनि अस्पताल, उच्च शिक्षा र कृषि क्षेत्रको विकास गर्न आवश्यक छ । यसको लागि रुख चिन्हमा मतदान गर्नुहोस् । नेपालमा नेपाली काँग्रेसबाहेक कोही पनि परिवर्तनकारी पार्टी छैन ।’
उहाँले नयाँ भनिएका दलहरु मधसवासीको भावनासँग खेलन खोजिरहेको आरोप लगाउँदै त्यसतर्फ सचेत हुन समेत सबैमा आग्रह गर्नुभयो ।