Logo ५ फाल्गुन २०८२, मंगलबार | Tue Feb 17 2026


सडक निर्माण नभएको उम्मेदवारसँग मतदाताकाे गुनासो


208
Shares

काठमाडाैं । बाजुराका विभिन्न स्थानमा सडक स्तरोन्नति तथा कालोपत्रे कार्य पूरा नभएको भन्दै मतदाताले उम्मेदवारसँग गुनासो गरेका छन्।

यहि फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सन्दर्भमा विभिन्न दल तथा स्वतन्त्र उम्मेदवार गाउँबस्तीमा पुगिरहेकाे समयमा स्थानीयले सडक निर्माण कार्य वर्षौंदेखि अलपत्र परेको विषय उठाएका हुन्। जिल्लाको मुख्य साँफे–मार्तडी सडक अन्तर्गत बल्दे खण्ड तथा मार्तडी–कोल्टी सडक निर्माण सुरु भएको धेरै वर्ष बितिसक्दा पनि काम सम्पन्न नभएको स्थानीयवासीको गुनासो छ। बुढीनन्दाका स्थानीय रामबहादुर कार्कीले विगतमा उम्मेदवारहरूले स्वास्थ्य, शिक्षा, पुल, सडक र खानेपानी लगायत पूर्वाधार विकासका योजना ल्याउने प्रतिबद्धता जनाउँदै मत मागे पनि मुख्य सडकहरू नै लामो समयदेखि अधुरै रहेकाे बताएका हुन् ।

सडक अवरुद्ध हुँदा स्थानीय उत्पादन, विशेषगरी स्याउ समयमै बजारसम्म पुर्‍याउन नसक्दा किसान मर्कामा पर्ने गरेका छन्। योजना स्वीकृत भए पनि समयमै सम्पन्न नहुँदा सास्ती खेप्नुपरेको स्थानीयकाे गुनासाे छ । त्यस्तै, बुढीगङ्गा नगरपालिका अन्तर्गतको बल्दे–आटीचौर सडक कालोपत्रे शुरु भएको करिब सात वर्ष बितिसक्दा पनि सम्पन्न हुन सकेको छैन।

स्थानीयवासीले हिउँदमा निर्माण सामग्री जम्मा गरिए पनि वर्षामा बग्ने गरेको बताएका छन् ।