Logo २ फाल्गुन २०८२, शनिबार | Sat Feb 14 2026


मुगुकाे एक गाउँमा मतदान केन्द्र छ, मतदाता छैनन्


325
Shares

मुगु । हिमाली जिल्ला मुगुको एक गाउँमा मतदान केन्द्र तोकिएपनि मतदाता छैनन् ।

जाडो छल्न बेंशी झरेपछि कार्मारोङ गाउँपालिकाको मुगु  गाउँमा मतदान केन्द्रमा मतदाता भेट्न मुस्किल देखिन्छ । गाउँ नै खाली भएका कारण फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा गाउको मतदान केन्द्रमा कसले मतदान गर्ने भन्ने अन्योल देखिएको छ ।

मतदान केन्द्र रहेको मुगु गाउँमा तीन जना गुम्बा पुजारी मात्र रहेको मुगुम कार्मारोङ गाउँपालिकाका अध्यक्ष छिरिङक्याप्ने लामाले जानकारी दिनुभयो ।

जाडो छल्न गएका गाउँले गर्मी बढेपछि चैत पहिलो साता मात्र स्थानीय गाउँ फर्कदै आएका छन्। समुद्री सतह देखि करिव ३३ सय मिटर उचाईमा अबस्थित तिब्बत सिमा क्षेत्र संग जोडिएको मुगु गाउँ हिजोआज मानव बिहिन अबस्थामा छ । मुगु गाउँमा करिव १ सय २० घरधुरी र ३ सय बढी मतदाता रहेका छन्।

सिमा क्षेत्र मुगु गाउमा रहेको प्रहरी चौकी पनि बन्द छ । त्यहा कार्यरत प्रहरी जवान पनि गत मंसिर नै जाडो कटाउन पुलु प्रहरी चौकी र जिल्ला सदरमुकाम गमगढी सारिएको छ । जाडो कटाउन स्थानीय बाहिए पछि मुगु गाउको स्कुल स्वास्थ्य चौकी वडा कार्यालय पनि बन्द छ । मुगु गाउका सम्पूर्ण बिकास निर्माणका पनि पनि बन्द छन् ।