Logo १७ चैत्र २०८२, मंगलबार | Tue Mar 31 2026


सुदूरपश्चिममा नयाँ अनुहारहरूबीच रोचक प्रतिस्पधा हुने (भिडियाे रिपाेर्ट)


351
Shares

वीराज राेस्यारासंवाददाता

कैलाली । अघिल्लो निर्वाचनमा नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पत्नी आरजु पराजित भएको कैलालीको क्षेत्र नम्बर ५ अहिले पनि चर्चामा रहेको छ । यस निर्वाचन क्षेत्रमा अहिले नयाँ अनुहारहरुबीच रोचक भीडन्त हुने देखिएको हाे।

सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी पनि यहि क्षेत्र नम्बर ५ अन्तर्गतको धनगढीमा छ । यस क्षेत्रमा धनगढी उपमहानगरपालिकाकाका १९ वटा वडा र कैलारी गाउँपालिकाका दुई वटा समेटिएका हुन् । १ लाख १० हजार ६ सय मतदाता रहेको यो निर्वाचन क्षेत्रमा यसपटक मुख्य प्रतिष्पर्धा नयाँ अनुहारकाबीचमा हुने देखिएको छ । कांग्रेसबाट नरनारायण शाह, एमालेबाट यज्ञ ढुंगाना, नेकपाबाट प्रेम आले र रास्वपाबाट आनन्दबहादुर चन्द यस क्षेत्रमा पहिलो पटक चुनावी मैदानमा छन् ।

डोटीबाट निर्वाचन लड्दै आएका प्रेम आले यो क्षेत्रमा अहिले नयाँ अनुहारकाे रुपमा रहनुभएकाे हाे । २०४८ सालदेखि २०७९ सम्मको चुनावनी नतिजा हेर्दा चार पटक कांग्रेसका उम्मेदवार विजयी हुँदा दुई पटक एमाले र एक पटक तत्कालीन माओवादीले चुनाव जितेका छन् । शेरबहादुर देउवाले समेत २०७० सालमा यहाँबाट उम्मेदवार बनेर जित्नुभएकाे थियाे । कैलाली जिल्लाको दुई पटक कांग्रेस सभापति भइसकेका नरनारायण शाह कांग्रेस एकजुट भएकाले आफ्नो जित सुनिश्चित भएको दावी गर्दै आउनुभएकाे छ।

नेकपा एमालेका उम्मेदवार यज्ञ ढुंगाना पनि युवा तथा विभिन्न सामाजिक कार्यमा सक्रिय रहेका कारण विजय सुनिश्चित रहेको दावी गरिरहनुभएकाे हाे । एमालेको संगठन दुरुस्त रहेकाले यस पटक एमालेले जित्ने उहाँको जिकिर छ । कांग्रेस र एमालेको तुलनामा नेकपाको संगठन कमजोर रहे पनि चुनावी मैदानमा रहेका नेता आले व्यक्तिगत रूपमा बढी मत आकर्षित गर्न सक्ने क्षमता रहेका कारण जित आफ्नै हुने दावी गरिरहनुभएकाे छ ।

देशभरी सामाजिक संञ्जालमा लोकप्रियता बटुलिरहेको रास्वपाको बाहिर संगठन नदेखिए पनि शहरी क्षेत्र भएका कारण भित्रभित्रै आफ्ना मतदाता निर्ष्कण हुने विश्वास उनीहरुको छ । शहरी क्षेत्र मत परिवर्तनको पक्षमा भएकाले कैलाली-५ मा पनि यस पटक परिवर्तन हुने दावी उनीहरुको छ ।

गत वर्षकाे स्थानीय निर्वाचनमा धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उमेदवार विजयी भएको यो क्षेत्र सुदुरपश्चिमकै चर्चित क्षेत्र मध्ये एक हो । प्रदेशको अस्थायी राजधानीमा भैरहेको नयाँ अनुहारको भीडन्तको परिणाम कस्तो आउने हो सबैले चासाेका साथ हेरिरहेका छन् ।

भिडियाे रिपाेर्ट: