Logo १२ चैत्र २०८२, बिहिबार | Thu Mar 26 2026


इमरान खानका छोराको आरोप: पाकिस्तान जान भिसा जानाजानी रोकियो


637
Shares

एजेन्सी ।

पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) का संस्थापक तथा जेलमा रहेका पूर्वप्रधानमन्त्री इमरान खानका छोरा कासिम खानले आफू र दाजु सुलेमान खानलाई पाकिस्तान जान नदिन सरकारले जानाजानी भिसा प्रक्रिया रोकिरहेको आरोप लगाएका छन्।

हाल लन्डनमा आमा जेमिमा गोल्डस्मिथसँग बसोबास गर्दै आएका कासिम र सुलेमानले बाबुको स्वास्थ्य अवस्था कमजोर बन्दै जाँदा भेट्न जान खोज्दा पनि सरकारले अवरोध गरेको कासिमको दाबी छ।

बुधबार सामाजिक सञ्जाल एक्समा लेख्दै कासिम खानले इमरान खानलाई पछिल्ला ९१४ दिनदेखि एकान्त कारावासमा राखिएको, स्वास्थ्य अवस्था बिग्रँदै जाँदा पनि स्वतन्त्र चिकित्सकीय उपचारबाट वञ्चित गरिएको आरोप लगाएका छन्। बाबुलाई भेट्न पाकिस्तान जान चाहँदा सरकारले भिसा आवेदन अघि नबढाएको उनको भनाइ छ।

‘कुनै कैदीलाई उपचारबाट वञ्चित गर्नु क्रूरता हो। आफ्ना सन्तानलाई बाबुसँग भेट्न नदिनु सामूहिक दण्ड हो,’ कासिमले लेखेका छन्। उनले अन्तर्राष्ट्रिय मानवअधिकार संस्था तथा विभिन्न सरकारहरूलाई यस विषयमा हस्तक्षेप गर्न आग्रह गर्दै ढिलाइ भए अपूरणीय क्षति हुन सक्ने चेतावनी दिएका छन्।

यो घटनाक्रम इमरान खानको स्वास्थ्य अवस्था र उपचार पहुँचबारे बढ्दो चिन्ताका बीच सार्वजनिक भएको हो। गत साता पाकिस्तान सरकारले इमरान खानलाई पाकिस्तान इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (पिम्स) लगिएको स्वीकार गरेको थियो।

तर त्यसपछि पीटीआईले परिवार र पार्टी नेतृत्वलाई जानकारी नदिई गोप्य रूपमा अस्पताल सारिएको भन्दै सरकारको आलोचना गरेको थियो। पार्टीले इमरान खानलाई आफ्ना निजी तथा विश्वसनीय चिकित्सकहरूसँग भेट्न नदिइएको आरोप पनि लगाउँदै आएको छ।

यसअघि राष्ट्रिय सभाका विपक्षी नेता महमूद खान अचकजईले प्रधानमन्त्री शेहबाज शरीफलाई पत्र लेख्दै इमरान खानको स्वास्थ्य परीक्षण ‘विश्वसनीय चिकित्सक’मार्फत गराउन व्यक्तिगत हस्तक्षेप गर्न आग्रह गरेका थिए।

इमरान खानका छोराहरूले सन् २०२५ को डिसेम्बरमै भिसा आवेदन दिएको र जनवरीमा पाकिस्तान जाने योजना बनाएको बताएका छन्। तर पछिल्ला रिपोर्टहरूमा अधिकारीहरूले कासिम र सुलेमानलाई भिसा दिन अस्वीकार गरिरहेको उल्लेख भएपछि इमरान खानको स्वास्थ्य अवस्था र परिवारसँगको भेटघाटबारे चिन्ता झनै बढेको छ।