Logo ७ माघ २०८२, बुधबार | Wed Jan 21 2026


ग्रेट नेपाल र फाइभ इलिमेन्ट एसडीजीबीच सम्झौता


0
Shares

काठमाडौं ।

दिगो विकास, नवीकरणीय ऊर्जा र सामाजिक रूपमा समावेशी प्रविधिको प्रवद्र्धन गर्ने लक्ष्यसहित ग्रेट नेपाल प्रालि र स्विट्जरल्याण्डस्थित अन्तर्राष्ट्रिय संस्था फाइभ इलिमेन्ट एसडीजीबीच तीन वर्षे समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा ग्रेट नेपालका अध्यक्ष गुणराज ढकाल र फाइभ इलिमेन्ट एसडीजीका अध्यक्ष तथा प्रबन्ध निर्देशक अरुण साम अमृतमले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् । उक्त समझदारी नेपालसहित अन्य विकासोन्मुख मुलुकहरूमा नवीकरणीय ऊर्जा, विशेषगरी सौर्य ऊर्जा, ग्रामीण तथा सीमान्तकृत समुदायको समग्र विकास, सामाजिक उद्यम, जलवायु–सहनशील पूर्वाधारका क्षेत्रमा संयुक्त रूपमा काम गर्न केन्द्रित छ ।

समझदारीको प्रमुख पहलका रूपमा साउथ सस्टेनेवल सोलार स्टाटेजी एस फाइभ अघि बढाइनेछ । उक्त रणनीतिअन्तर्गत दक्षिण एसियामा समुदाय केन्द्रित, सुलभ र स्थानीय सन्दर्भअनुकूल सौर्य तथा स्वच्छ ऊर्जा समाधानको प्रवद्र्धन गरिने जनाइएको छ।

समझदारीअनुसार ग्रेट नेपालले नेपालभित्र परियोजना समन्वय, प्राविधिक अध्ययन, विस्तृत परियोजना प्रतिवेदन तयारी, निर्माण सुपरिवेक्षण, गुणस्तर सुनिश्चितता तथा कार्बन वित्तसम्बन्धी सहयोग गर्नेछ । त्यस्तै फाइभ इलिमेन्ट एसडीजीले अन्तर्राष्ट्रिय स्तरमा रणनीतिक मार्गदर्शन, स्रोत परिचालन, साझेदारी विकास र ज्ञान आदान–प्रदानमा नेतृत्वदायी भूमिका निर्वाह गर्नेछ ।

त्यस क्रममा ग्रेट नेपालका अध्यक्ष ढकालले नवीकरणीय ऊर्जा र दिगो पूर्वाधारलाई सामाजिक न्याय र समावेशीतासँग जोडेर अघि बढाउन यो समझदारी महत्वपूर्ण हुने बताए । त्यस्तै फाइभ इलिमेन्ट एसडीजीका अध्यक्ष अरुण साम अमृतमले नेपालसँगको सहकार्यलाई दीर्घकालीन र प्रभावमुखी बनाउने प्रतिबद्धता व्यक्त गर्दै स्थानीय क्षमतामा आधारित समाधान नै दिगो विकासको आधार भएको धारणा राखे ।