काठमाडौँ ।
अमेरिकन चेम्बर अफ कमर्स इन नेपाल (एमच्याम नेपाल) को टोलीले अर्थमन्त्री रामेश्वर खनालसँग भेटवार्ता गर्दै वैदेशिक लगानी प्रवद्र्धन, डिजिटल पूर्वाधार विकास र नीतिगत सुधारका विषयमा छलफल गरेको छ ।
भेटमा एमच्याम नेपालले कर प्रणाली सुधार, डाटा सेन्टर, ऊर्जा र वित्तीय क्षेत्रसँग सम्बन्धित चुनौती औंल्याउँदै समाधानका सुझाव प्रस्तुत गरेको छ । अध्यक्ष कैलाश विजयानन्दले स्पष्ट नीति र लगानीमैत्री वातावरण भए नेपालमा अमेरिकी लगानी उल्लेखनीय रूपमा बढ्न सक्ने बताए ।
अर्थमन्त्री खनालले एमच्यामले उठाएका विषयहरू गम्भीरतापूर्वक अध्ययन गरी समाधानका लागि सम्बन्धित निकायसँग समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
नेपाल राष्ट्र बैंकले भेरिफिकेसन लेटर दिन छोडिसकेको अवस्थामा समेत आन्तरिक राजस्व विभागले सो कागज अनिवार्य गरेकाले व्यवसायको नगद प्रवाहमा समस्या आएको गुनासो गरिएको छ। यसको समाधानका लागि वाणिज्य बैंकमार्फत प्रमाणीकरण गर्ने व्यवस्था लागू गर्नुपर्ने सुझाव पनि अर्थमन्त्रीसमक्ष पेश गरिएको छ ।
यसै सन्दर्भमा अध्यक्ष विजयानन्दले भ्याट फिर्ता गर्ने काम ढिला हुँदा लगानीकर्ताको विश्वास कमजोर बनाउने भएकाले यसलाई सरल र डिजिटल बनाउन आवश्यक रहेको उल्लेख गरेका छन् । साथै, एमच्याम नेपालले राष्ट्रिय भुक्तानी प्रणालीलाई एकल निकायमा केन्द्रित गर्ने प्रस्तावले प्रतिस्पर्धा र नवप्रवर्तनमा नकारात्मक असर पार्न सक्ने भन्दै बजारमैत्री प्रणाली अपनाउनुपर्नेमा जोड दिएको छ।
त्यसैगरी, सौर्य ऊर्जासम्बन्धी परियोजनामा भ्याट छुट अधिकार दुई निकायमा विभाजित हुँदा ढिलाइ र अन्योल सिर्जना भएको उल्लेख गर्दै वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रलाई एकद्वार अधिकार दिन सुझाव पेश गरिएको छ।
एमच्याम नेपालले स्पष्ट नीतिगत सुधार, पारदर्शी नियमन र लगानीमैत्री वातावरण निर्माण भएमा नेपालमा अमेरिकी लगानी उल्लेखनीय रूपमा वृद्धि हुने विश्वास व्यक्त गरेको छ।
अर्थमन्त्री खनालले एमच्याम नेपालले प्रस्तुत गरेका सुझावहरूलाई गम्भीरतापूर्वक अध्ययन गरी सम्बन्धित निकायहरूसँग समन्वय गर्दै समस्याको समाधान खोजिने प्रतिबद्धता व्यक्त गरेको एमच्यामले जनाएको छ।
एमच्यामका अध्यक्ष विजयानन्दसहित संस्थापक अध्यक्ष अजित विक्रम शाहसँगै पदाधिकारीहरु आकाश गोल्छा, मनिस थापा, स्नेह राजभण्डारी, सुरक्षा हमाल, सचिन करनजितसहित एमच्यामका कार्यकारी निर्देशक अमीरराज थापाले अर्थमन्त्रीसमक्ष सुझाव पेश गरेका थिए ।





प्रतिक्रिया दिनुहोस्