काठमाडाैं ।
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मासहितका केही नेताहरुलाई कारबाही गर्ने निर्णय गरेको छ । सानेपामा बसेको बैठकले उनीहरूलाई कारबाही गरेको हो ।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा इतर पक्षले भृकुटीमण्डपमा विशेष महाधिवेशन जारी राखेको छ । यसैबीच पटकपटक संस्थापन पक्षीय नेताहरूसँग भएको वार्ता असफल भएपछि अन्तिम समयमा उनीहरूलाई कारबाही गर्ने निर्णय देउवा पक्षले गरेको हो ।
कांग्रेस संस्थापन र विशेष महाधिवेशन दुवै पक्षका नेताहरू सहमतिको अन्तिम कसरतमा रहेका थिए । कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा शुरु भएको बैठकमा समसामयिक राजनीतिक विषयवस्तु र पार्टीभित्रको आन्तरिक विवाद मुख्य एजेण्डा रहेको छ ।
पार्टीभित्र विशेष महाधिवेशनको माग गर्दै महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अग्रसरतामा भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनको प्रभाव र सम्भावित पार्टी विभाजनको जोखिमलाई मध्यनजर गर्दै यो बैठक बोलाइएको थियो । विशेष महाधिवेशन पक्षधरहरूले केन्द्रीय समितिलाई भंग गर्ने प्रश्तावसमेत अघि सारेका थिए ।
विशेष महाधिवेशन पक्षधरहरूले पठाएको ८ बुँदे प्रस्तावमा कार्यकारी भूमिकाबाट सभापति शेरबहादुर देउवा बाहिरिनुपर्ने र प्रधानमन्त्रीको उम्मेदवारमा गगन थापालाई घोषणा गरेर जानुपर्ने लगायतका विषय समेटिएका थिए ।





प्रतिक्रिया दिनुहोस्