Logo १९ फाल्गुन २०८२, मंगलबार | Tue Mar 3 2026


एसबीआई बैंक लुटपाट : बेहुली लिन जाने भन्दै जीप बुक गरेका थिए लुटेरा समूह


9.8k
Shares

काठमाडौं ।

सिन्धुलीको घ्याङलेख गाउँपालिका–२ स्थित एसबीआई बैंकको शाखामा भएको लुटपाट घटनामा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। मंगलबार राति साढे ७ बजे भएको घटनामा पाँचजनाको समूहले बैंक लुटेका थिए।

प्रहरीका अनुसार लुटपाटका क्रममा बैंकका सुरक्षा गार्ड रुद्रबहादुर कार्कीलाई खुकुरी प्रहार गरिएको थियो। सुरक्षा गार्ड र कर्मचारीलाई नियन्त्रणमा राखेर बैंकबाट तीन करोड १० लाख रुपैयाँ लुटिएको खुलेको छ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी लालध्वज सुवेदीका अनुसार लुटिएको रकममध्ये एक करोड ८० लाख १० हजार ५०० रुपैयाँ बैंक नजिकैको जंगलमा फालिएको अवस्थामा बोराभित्र फेला परेको छ।

पक्राउ परेकामध्ये दुईजना नुवाकोटका, एकजना चितवन र एकजना मकवानपुरका छन्। लुटपाटमा प्रयोग गरिएको ०३९८ नम्बरको टाटा सुमो जीप र चालक भगत सिंह थापालाई पनि नियन्त्रणमा लिइएको छ। प्रारम्भिक अनुसन्धानमा उनीहरुले जीपलाई काभ्रेबाट बेहुली लिन भाडामा लिएको तर सिन्धुलीमा लुटपाटमा प्रयोग गरेको खुलेको छ।

प्रहरीले घरमा रंग लगाउने मजदुर रहेको समूहका सदस्यहरूले योजना बनाएर बैंक लुटपाट गरेको पुष्टि गरेको छ। प्रहरीले अन्य संलग्नको खोजी र चालकको भूमिकामा समेत अनुसन्धान जारी राखेको छ।