Logo २९ पुस २०८२, मंगलबार | Tue Jan 13 2026


पार्टीका सबै समितिहरु भंग भएर निर्वाचनको कोर्ष अघि बढिसक्यो, अब स्थगित हुँदैनः निर्वाचन समिति


0
Shares

काठमाडौं ।

नेपाली काँग्रेसको संस्थापन पक्ष र विशेष महाधिवेशन पक्षबीच मंगलवार दिनभर चरण चरणमा भएको वार्ता बिनानिर्णय टुंगिएपछि महाधिवेशन निर्वाचनतर्फ केन्द्रित भएको छ ।

विषेश महाधिवेशन पक्षधरले राखेका अन्य सबै विषयमा सहमति नजिक पुगेपनि पार्टी नेतृत्व छोड्न तयार नभएपछि जारी विषेश महाधिवेशन निर्वाचनको तयारीमा जुटेको हो । संस्थापन पक्षले निर्वाचनमा एमालेसँग सहकार्य नगर्न, विशेष महाधिवेशनको अपनत्व लिन तयार भएपनि नेतृत्व छोड्न तयार नभएको हो ।

पार्टीको दोस्रो विशेष महाधिवेशनका लागि गठित निर्वाचन समितिले तय गरिएको कार्यतालिका अनुसार नै निर्वाचन प्रक्रिया अघि बढ्ने स्पष्ट पारेको छ । मंगलवार साँझ मिडिया सेन्टरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै निर्वाचन समितिका संयोजक सीताराम केसीले यस्तो जनकारी दिनुभयो । केसीले पार्टीभित्र संवादका नाममा हुने सहमति राजनीतिक विषय भएको उल्लेख गर्दै निर्वाचन समिति आफ्नो जिम्मेवारीबाट पछि नहट्ने बताउनुभयो । उहाँले महाधिवेशनको बन्दसत्रबाट पार्टीका सबै समितिहरू भंग गरिसकेको र निर्वाचन प्रक्रिया औपचारिक रूपमा सुरु भइसकेको भन्दै निर्वाचनको कोर्ष स्थगित हुने सम्भावना नरहेको जिकिर गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘पार्टीका सबै समितिहरु भंग भएर निर्वाचनको कोर्ष अघिबढिसक्यो, अब संवादमा के सहमति हुन्छ त्यो राजनीतिक कुरा हो । निर्वाचन समिति आफ्नो कार्यतालिकाबाट पछि हट्दैन । पार्टीको विधान निर्वाचन आयोगमा दर्ता छ । संविधान मानेजस्तै दलहरुले विधान पनि मान्नुपर्छ । अब महाधिवेशन प्रतिनिधिहरुले जे भन्छन् हामी त्यसरी नै अघि बढ्छौँ ।’
उहाँले महाधिवेशन प्रतिनिधिहरूको निर्णयअनुसार नै निर्वाचन प्रक्रिया अघि बढाइएकाले उनीहरुको निर्णयअनुसार नै निर्वाचन प्रक्रिया अघि बढ्ने उल्लेख गर्नुभयो ।