काठमाडौं ।
नेपाली कांग्रेसमा संस्थापन र विशेष महाधिवेशन पक्षधरबीच सहमति गराउने प्रयास विफल भएको छ ।
विशेष महाधिवशेन पक्षले नयाँ नेतृत्व चयनको प्रक्रिया अघि बढाएपछि मध्यमार्गी बाटो खोजेर सहमति गराउन भएको वार्ता विफल भएको हो ।
काठमाडौंको लाजिम्पाटस्थित संस्थापन पक्षका एक नेताको घरमा अपरान्ह शुरु भएको वार्तामा विशेष महाधिवेशन पक्षधरले राखेका शर्त संस्थापनले अस्वीकार गरेको बुझिएको छ ।
खाशगरी सभापति शेरबहादुर देउवाले कार्यबाहक सभापति पूर्णबहादुर खड्कालाई सवै अधिकार दिएर सक्रिय राजनीतिबाट विश्राम लिनुपर्ने शर्तमा संस्थापनले विमति जनाएको बुझिएको छ ।
पछि पुनः वार्तामा बस्ने भन्दै वार्ता स्थगित गरिएको छ । देउवाले सक्रिय राजनीतिबाट विश्राम लिने विषयमा संस्थापन पक्षका वार्ताकारहरुले निर्णय लिने अवस्था नभएपछि वार्ता स्थगित भएको बुझिएको छ । वार्तामा विशेष महाधिवेशन पक्षले तीन वटा शर्त अघि सारेका थिए । सभापति शेरबहादुर देउवाले पार्टीको कार्यकारी भूमिका त्यागेर आगामी जेठसम्मका लागि पूर्णबहादुर खड्कालाई अधिकारसहितको कार्यवाहक सभापति बनाउनु पर्ने पहिलो शर्त रहेको छ ।
त्यस्तै दोस्रो शर्तमा आगामी प्रतिनिधिसभा निर्वाचनको टिकट वितरणमा देउवाको हस्ताक्षर चलाउन नपाइने तथा देउवाले आगामी निर्वाचन नलड्ने घोषणा गर्नुपर्ने रहेको छ । त्यसैगरी विशेष महाधिवेशनलाई पार्टी केन्द्रीय कमिटीले स्वीकार गर्दै त्यहाँबाट पारित हुने दस्तावेजलाई कार्यान्वयन गर्नुपर्ने तेस्रो शर्त राखिएको छ ।
वार्तामा विशेष महाधिवेशन पक्षधरहरुको तर्फबाट प्रदीप पौडेल, देवराज चालिसे, मधु आचार्य र गुरूराज घिमिरे सहभागी थिए भने संस्थापनबाट रमेश लेखक र बालकृष्ण खाण तथा शेखर कोइराला पक्षबाट बद्री पाण्डे, जीवन परियार र मिनेन्द्र रिजाल सहभागी थिए ।





प्रतिक्रिया दिनुहोस्