Logo २९ पुस २०८२, मंगलबार | Tue Jan 13 2026


कांग्रेस विशेष महाधिवेशन: आज राति ९ बजेदेखि नेतृत्व चयनका लागि मतदान


754
Shares

काठमाडौं । भृकुटीमण्डपमा जारी नेपाली कांग्रेसको विशेष महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया औपचारिक रूपमा सुरु भएको छ।

वरिष्ठ अधिवक्ता सीताराम केसी संयोजक रहेको पाँच सदस्यीय केन्द्रीय निर्वाचन समितिले आज निर्वाचन कार्यतालिका स्वीकृत गर्दै मतदानको समय तोकेको हो। सार्वजनिक गरिएको कार्यतालिकाअनुसार नेतृत्व चयनका लागि आजै राति ९ बजेदेखि १ बजेसम्म मतदान हुनेछ, भने निर्वाचनसम्बन्धी प्रक्रिया दिउँसोदेखि नै प्रारम्भ भइसकेको छ।

तालिकाअनुसार आज दिउँसो १२:३० बजे प्रथम मतदाता नामावली प्रकाशन गरिएको थियो। त्यसपछि दिउँसो १:३० बजेसम्म मतदाता नामावलीमाथि दाबी–विरोध तथा छानबिनको समय तोकिएको छ। अपराह्न २ बजे अन्तिम मतदाता नामावली प्रकाशन गरिने निर्वाचन समितिले जनाएको छ।

उम्मेदवारी दर्ताका लागि दिउँसो २ बजेदेखि ३ बजेसम्म समय निर्धारण गरिएको छ। मनोनयन दर्ता सम्पन्न भएपछि उम्मेदवारहरूको पहिलो नामावली नेपाली वर्णानुक्रम (देवनागरी लिपि) अनुसार सार्वजनिक गरिनेछ।

उम्मेदवारीमाथि दाबी–विरोध र त्यसको छानबिन प्रक्रिया साँझ ७ बजेसम्म सम्पन्न गरिनेछ। त्यसपछि राति ८:४५ बजे उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरिने सूचनामा उल्लेख छ। अन्तिम नामावली प्रकाशन भएलगत्तै राति ९ बजेदेखि मतदान प्रक्रिया सुरु हुनेछ।

निर्वाचन समितिले मतदान सम्पन्न भएलगत्तै मतगणना सुरु गरी नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ। विशेष महाधिवेशनमार्फत नेतृत्व चयनको प्रक्रिया अघि बढेसँगै कांग्रेसभित्र संस्थापन र इतर पक्षका नेताहरू आ–आफ्नो रणनीति बनाउन तथा आन्तरिक छलफललाई तीव्र बनाइरहेका छन्।