Logo २८ पुस २०८२, सोमबार | Mon Jan 12 2026


हरेक आन्दोलनको मारमा निजी क्षेत्र: पूर्वअध्यक्ष श्रेष्ठ


52
Shares

काठमाडौं ।

नेपाल चेम्बर अफ कमर्सका पूर्वअध्यक्ष राजेशकाजी श्रेष्ठले मुलुकमा आइपर्ने विपत्तिहरुदेखि आन्दोलनहरुबाट व्यापारीहरु ठूलो मारमा परेको बताउनुभएको छ ।

नेपाल–इटाली चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रिज (निक्की) को १२ औं वार्षिक साधारण सभाका अवसरमा राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै श्रेष्ठले ठूलो मारमा परेका व्यवसायीहरुलाई बैंकले समान तवरले नहेरेको बताउनु भयो । ठूलो बिजनेस गरेकाहरुलाई मात्रै पुनःतालिकीकरण, पुनःकर्जा पाइरहेको भन्दै उहाँले साना व्यवसायीहरुको समस्या सम्बोधन गर्न सरकारले तदारुकता नदेखाएको बताउनु भयो ।

उहाँले उद्योगी व्यवसायीहरुमाथि भइरहेको आक्रमण रोकिनुपर्ने र असुरक्षाको वातावरण अन्त्य हुनुपर्ने बताउनु भयो । उद्योगी व्यवसायीमाथि भइरहेको आक्रमणका विरुद्ध व्यवसायीहरु एकजुट हुनुपर्ने बेला आएको पनि श्रेष्ठले बताउनु भयो । नेपाल–इटाली चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रिज (निक्की) का अध्यक्ष सञ्जय अग्रवालले नेपालमा उत्पादित समाग्रीहरुलाई इटलीकासाथै युरोपमै विस्तार गर्ने काम भइरहेको बताउनु भयो ।

इटलीयनको मुख्य उद्देश्य उनीहरुको उत्पादनलाई नेपाल पठाउने भएपनि आफूहरुको उद्देश्य नेपालबाट धेरै भन्दा धेरै वस्तुहरु इटलीसहितका युरोपेलियन मुलुकहरुमा बजारीकरण गर्ने रहेको अग्रवालले दाबी गर्नुभयो । इटलीका लागि भिसा पाउन गाह्रो हुँदा नेपाली वस्तुहरु बजारीकरण गर्न समस्या परिरहेको पनि अग्रवालले बताउनु भयो । साधारण सभाले आगामी तीन वर्षका लागि अग्रवाललाई नै पुनः अध्यक्षमा निर्वाचित समेत गरेको छ ।