Logo २७ पुस २०८२, आइतबार | Sun Jan 11 2026


कांग्रेस विशेष महाधिवेशन: बन्द सत्र भोलि बिहान ८ बजेदेखि सुरु हुने


1.2k
Shares

काठमाडाैं ।

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन आज काठमाडौंको भृकुटीमण्डपमा सुरू भएको छ। हाल उद्घाटन सत्र चलिरहेको छ । पार्टीका शीर्ष तथा वरिष्ठ नेताहरूले शुभकामना मन्तव्य दिइरहेका छन्। उद्घाटन सत्रकै क्रममा सोमबार बिहान ८ बजेबाट बन्द सत्र सुरू हुने जानकारी दिइएको हो।

महाधिवेशन प्रतिनिधिहरूको नाम दर्ता प्रक्रिया बिहान सवा ८ बजेबाट सुरू गरिएको छ। अहिलेसम्म ४९.३४ प्रतिशत प्रतिनिधिले नाम दर्ता गराइसकेको आयोजकले जानकारी दिएका छन्। देशभरबाट कुल ४ हजार ७ सय ४३ जना महाधिवेशन प्रतिनिधि रहेकामा २ हजार ३ सय ४० जनाले दर्ता गराइसकेका छन्। सातवटै प्रदेशका लागि छुट्टाछुट्टै डेस्क बनाएर भृकुटीमण्डप मूलगेट नजिकका स्टलहरूबाट दर्ता प्रक्रिया सञ्चालन भइरहेको छ।

नाम दर्ताका लागि परिचय खुल्ने कागजात, एक प्रति पासपोर्ट साइजको फोटो र एक हजार रुपैयाँ दर्ता शुल्क अनिवार्य गरिएको छ। यसअघि गत असोज २९ गते ५४.५८ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनको माग गरेका थिए।

संस्थापन पक्षले मागलाई बेवास्ता गरेपछि उक्त संवैधानिक व्यवस्थालाई टेकेर पार्टीलाई पुनर्जागरण गर्ने उद्देश्यसहित महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको अगुवाइमा दुईदिने विशेष महाधिवेशन आजबाट सुरू भएको हो।