Logo ८ चैत्र २०८२, आइतबार | Mon Mar 23 2026


कांग्रेसकाे दाेस्राे विशेष महाधिवेशनमा महाधिवेशन प्रतिनिधिको भृकुटीमण्डपमा चहलपहल (तस्बिरसहित)


663
Shares

काठमाडाैं। नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनका लागि आइतबार बिहानैदेखि देशैभरीबाट आएका महाधिवेशन प्रतिनिधिहरूको भृकुटीमण्डपमा चहलपहल बढेको छ ।

प्रतिनिधिहरूको नाम दर्ता प्रक्रिया जारी रहेकाे छ भने स्टलहरूमा लाइन लागेर दर्ता गराउनेको भीड देखिएको हाे। महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा आयोजना हुन लागेको यो विशेष महाधिवेशनमा करिब ६० प्रतिशत महाधिवेशन प्रतिनिधि सहभागी हुने आयोजकहरूको दावी छ। पार्टी विधानको धारा १७ (२) अनुसार ५४ प्रतिशतभन्दा बढी प्रतिनिधिको हस्ताक्षर संकलन गरेर यो महाधिवेशन आह्वान गरिएको हो ।

दर्ता शुल्क प्रतिव्यक्ति १ हजार रुपैयाँ तोकिएको छ । महाधिवेशनको उद्घाटन सत्र आइतबार दिउँसो १ बजे हुने भएकाे । उद्घाटनअघि काठमाडौं उपत्यकाका विभिन्न ६ स्थानबाट र्‍याली तथा जुलुस निकालेर भृकुटीमण्डपमा भेला भइरहेका छन् । यद्यपि, पार्टी सभापति शेरबहादुर देउवा नेतृत्वको संस्थापन पक्षले यो महाधिवेशनलाई मान्यता दिन अस्वीकार गरेको छ।

संस्थापन पक्षको भनाइ नियमित १५ औं महाधिवेशनको मिति तोकिसकेकाले विशेष महाधिवेशनको औचित्य सकिएको छ। महाधिवेशनबाट पार्टीको नेतृत्व परिवर्तन, नीति पुनरवलोकन र संरचनात्मक सुधारजस्ता एजेन्डा मुख्य रहने अपेक्षा गरिएको हाे। भृकुटीमण्डपमा कार्यकर्ताहरूको उत्साह र चहलपहलले महाधिवेशनको माहोल तातेको छ।