Logo २७ पुस २०८२, आइतबार | Sun Jan 11 2026


रुकुम पूर्वबाट चुनाव लड्ने प्रचण्डको घोषणा


1.3k
Shares

काठमाडौं ।
नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले प्रतिनिधिसभाको आउँदो निर्वाचन रुकुम पूर्वबाट लड्ने घोषणा गर्नुभएको छ ।

रुकुम पश्चिममा भएको नेकपाको एकता सन्देश सभालाई सम्बोधन गर्दै उहाँले आउँदो चुनाव रुकुम पूर्वबाट लड्ने घोषणा गर्नुभयो । पश्चिम रुकुमका जनताको विकासको चाहना पूरा गर्न आफू प्रतिबद्ध रहेको भन्दै उहाँले विकास निर्माणलाई नयाँ शिराबाट अघि बढाउने र रुकुमका जनताका दुःख सुखामा एकाकार हुनका निम्ति आउने प्रतिबद्धता जनाउनुभयो ।

यसअघि फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा दाहाल कहाँबाट उम्मेदवार हुने भन्ने सार्वजनिक भएको थिएन । उहाँलाई करिब आधा दर्जन जिल्लाले उम्मेदवार बन्ने सिफारिस गरेका थिए । यसैबीच, सभालाई सम्बोधन गर्दै उहाँले रुकुमका जनताले कोही पनि भगौडाको पछि नलाग्ने कुराको सावित गरेको टिप्पणी गर्नुभयो ।

रुकुमका प्रभावशाली नेता जनार्दन शर्माले पार्टी छाडेर गएपछिको अवस्थालाई संकेत गर्दै उहाँले यस्तो टिप्पणी गर्नुभएको हो । रुकुमका केही नेताहरू विचलित भएर पार्टी छाडेर गएको भन्दै उहाँले आफूलाई रुकुममा जनमत खस्केको हो कि भन्ने कुरामा चिन्ता भएको बताउनुभयो ।