Logo २७ पुस २०८२, आइतबार | Sun Jan 11 2026


फागुन २१ मा निर्वाचन गर्नुको विकल्प छैनः काँग्रेस नेता रिजाल


897
Shares

काठमाडाैं । नेपाली काँग्रेसका नेता डा.मिनेन्द्र रिजालले फागुन २१ मा निर्वाचन गर्नुको विकल्प नरहेको बताउनुभएको छ ।

संविधान र लोकतन्त्र दुवैको रक्षाका लागि पनि तोकिएको मितिमा निर्वाचन गर्नैपर्ने नेता रिजालको जिकिर थियो । शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेता रिजालले संविधानलाई पूर्ण रुपमा क्रियाशील गराउन प्रतिनिधिसभा चाहिने भएकाले पनि मुलुकमा निर्वाचन हुनैपर्ने बाध्यकारी अवस्था रहेको तर्क समेत गर्नुभयो ।

उहाँले संविधान नयाँ बनाउने भन्ने कुरामा अलमल आवश्यक नभएको पनि स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, ‘नयाँ अभिमत आवश्यक छ । नयाँ अभिमत लिनलाई फागुन २१ को चुनावमा जानु पर्दछ । फागुन २१ मा चुनाव सम्पन्न गर्‍याै भने फर्केर आएको प्रतिनिधिसभा क्रियाशील भएपछि संविधान पूर्ण रुपमा क्रियाशील हुन्छ ।

अहिले अरु केही पनि अलमलको काम गर्‍याैभने संविधानले पनि काम गर्न नसक्ने अवस्था आउन सक्छ । यो संविधान जोगिने, लोकतन्त्र जोगिने अरुले हुन्न । त्यसैले निर्वाचनमा जानुकै उपयुक्त हुन्छ ।’ काँग्रेस नेता रिजालले संविधानमा निर्वाचन प्रणालीलगायतका विषयमा परिमार्जन गर्न आवश्यक समेत पनि उल्लेख गर्नुभयो ।