Logo २५ पुस २०८२, शुक्रबार | Fri Jan 9 2026


सामाजिक सञ्जालमा अमर्यादित सामग्री पोष्ट गर्ने ५९९ जना प्रहरी जवान कारबाहीमा


377
Shares

काठमाडौं । नेपाल प्रहरीको सामाजिक सञ्जाल प्रयोग सम्बन्धी नीति विपरीत गैर व्यावसायिक एवम् अमर्यादित सामग्री पोष्ट गर्ने ५ सय ९९ जना प्रहरी कारबाहीमा परेका छन् ।

नेपाल प्रहरीका कर्मचारीले पालना गर्नुपर्ने आचारसंहिता सम्बन्धी कार्यादेश २०७७ एवम् प्रहरी प्रधान कार्यालयबाट विभिन्न मितिमा गरिएका परिपत्रहरूमा समेत प्रहरीले सामाजिक सञ्जालमा गैर व्यावसायिक र अमर्यादित आचरण प्रदर्शन नगर्न भनिएको थियो । तर आर्थिक वर्ष २०७७/७८ देखि हालसम्म फेसबुक, एक्स र टिकटक लगायतका विभिन्न सामाजिक सञ्जालमा संगठनविरूद्ध अमर्यादित टिप्पणी गर्ने एवम् प्रहरी पोसाकको दुरुपयोग गर्ने प्रहरी नायब महानिरीक्षकदेखि कार्यालय सहयोगीसम्मलाई विभागीय कारबाही गरिएको प्रहरी प्रधान कार्यालयले जनाएकाे हाे।

कारबाही पर्नेहरूमा १ प्रहरी नायब महानिरीक्षक, १ प्रहरी वरिष्ठ उपरीक्षक, ४ प्रहरी उपरीक्षक, ५ प्रहरी नायब उपरीक्षक, २४ प्रहरी निरीक्षक, ११ प्रहरी वरिष्ठ नायब निरीक्षक, २४ प्रहरी नायब निरीक्षक, ५१ प्रहरी सहायक निरीक्षक, सात प्रहरी वरिष्ठ हवलदार, ३५ प्रहरी हवलदार, ७६ सहायक हवलदार, ३५८ फ्रहरी जवान र कार्यालय सहयोगी २ जना रहेका छन् ।

उनीहरूलाई संगठनको नीति विपरीत कार्य गरेकोमा सख्त चेतावनी, नसिहतदेखि बढुवा रोक्कासम्मको कारबाही गरिएको प्रहरीले बताएकाे हाे। प्रहरीले सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित र मर्यादित बनाउन मिति २०७१ मा परिपत्र गरी सामाजिक सञ्जालको व्यवस्थित फ्रयोग गर्ने सम्बन्धी निर्देशिका जारी गरेको थियाे।