काठमाडाैं। नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले अब विशेष महाधिवेशनको चर्चा गर्नु उपयुक्त नभएको बताउनुभएको छ ।
उहाँले आइतबार संचारकर्मीसँग कुरा गर्दै पार्टी केन्द्रीय कार्य सम्पादन समितिले विशेष महाधिवेशनको औचित्य नभएकाले नै १५ औं नियमित महाधिवेशनको मिति सार्वजनिक गरिसकेको बताउनुभएको हो । उहाँले पार्टीको नियमित १५ औं महाधिवेशन गर्नेगरी आफ्नो कार्यतालिका पारित गरेको बारेमा सबैले ध्यान दिनुपर्ने बताउनुभयो । आगामी फागुन २१ गते हुने आम निर्वाचनमा कांग्रेसले भाग लिने निर्णय गरिसकेकाले त्यसतर्फ सबैको ध्यान केन्द्रित हुनुपर्ने बताउनुभएकाे छ ।
नेता सिटौलाले पार्टी पंक्तिभित्र सम्पूर्ण एकता निर्माण गर्नुपर्ने, पार्टी एकतावद्ध भएर जनताको माझमा जानुपर्ने आवश्यकता रहेको बताउनुभयो । पार्टीले आम जनताको लागि राष्ट्रको लागि आगामी दिनमा के कस्तो योजना ल्याउने हो, के कस्तो नीति निर्माण गर्ने हो त्यसमा ध्यान केन्द्रित हुनुपर्ने बताउनुभएकाे छ ।
नेता सिटौलाले विशेष महाधिवेशनतर्फ नलाग्न र निर्वाचनतर्फ लाग्न पार्टीका नेता र कार्यकर्ताहरुसँग आह्वान गर्नुभयो । नियमित महाधिवेशन सफलतापूर्वक सम्पनन्न गर्नेतर्फ लाग्नुपर्ने उहाँकाे भनाइ छ।





प्रतिक्रिया दिनुहोस्