Logo ३ फाल्गुन २०८२, आइतबार | Mon Feb 16 2026


जेनजी आन्दोलनले आत्मसमीक्षाको अवस्था सिर्जना गरेको छः संयाेजक दाहाल


104
Shares

काठमाडाैं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले जेनजी आन्दोलनले राजनीतिक नेतृत्वलाई आत्मसमीक्षा गर्न बाध्य बनाएको बताउनुभएको छ।

काठमाडाैंमा बुधबार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको कार्यक्रममा बाेल्दै उहाँले यस्ताे बताउनुभएकाे हाे। अब नयाँ संकल्प र प्रतिवद्धतासहित जनताको आवश्यकतालाई सम्बोधन गर्ने कि आफ्नो औचित्य सकिएको स्वीकार गर्दै पन्छिने भन्ने निर्णायक अवस्थामा राजनीति पुगेको उहाँले बताउनुभयो । उहाँले देश अहिले विरलै देखिने गम्भीर संकटबाट गुज्रिरहेको उल्लेख गर्दै यसको समाधान सर्वपक्षीय सहमति र संकल्पबाट मात्रै सम्भव हुने धारणा राख्नुभएकाे छ।

संयाेजक दाहालले सबै राजनीतिक शक्ति मिलेर अघि बढ्ने वातावरण बन्दै गएको बताउनुभयो । उहाँले देश अन्योलमा छैन भन्ने सन्देश प्रधानमन्त्रीले दिन सफल भएको भन्दै उनले त्यसका लागि धन्यवाद व्यक्त गर्नुभएकाे छ। उहाँ अनुसार अहिले जनता र राजनीतिक दलहरू निर्वाचनको कुनै विकल्प छैन भन्ने निष्कर्षमा पुगेका छन् ।

संयाेजक दाहालले विकास र समृद्धिका लागि निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै निजी क्षेत्रप्रति हेर्ने दृष्टिकोण परिवर्तन गर्न जरुरी रहेको बताउनुभयो । निजी क्षेत्रलाई प्रोत्साहन नगरेसम्म देशले आर्थिक प्रगति हासिल गर्न नसक्ने उहाँको भनाइ थियो । उहाँले शान्ति, स्थायित्व-समृद्धि आजको मुख्य आवश्यकता भएको उल्लेख गर्दै त्यसका लागि निर्वाचन सम्पन्न गर्नु र आगामी सरकारमार्फत संविधान संशोधन गर्नु नै दीर्घकालीन समाधान भएको बताउनुभएकाे छ।