काठमाडाैं ।
नारायणगढ–बुटवल सडकखण्डअन्तर्गत दाउन्ने क्षेत्रमा शीतलहरका कारण सडक चिप्लो हुँदा राजमार्ग अवरुद्ध भएको छ ।
पश्चिम नवलपरासीको दाउन्ने खुर्सानीखोला क्षेत्रमा सडक हिलो र चिप्लो बनेपछि सवारीसाधन चढ्न नसकी अड्किएका हुन् ।
केही दिनयता निरन्तर शीतलहरका कारण उक्त सडकखण्डमा सवारी जाम बढ्दै गएको छ । जामका कारण यात्रुहरू लामो समयसम्म बाटोमै अलपत्र परेका छन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय पूर्वी नवलपरासीका सूचना अधिकारी प्रहरी वरिष्ठ नायब निरीक्षक विनोद जोशीका अनुसार बाक्लो हुस्सु र चिसो मौसमका कारण सवारी सञ्चालन निकै कठिन बनेको छ । उनका अनुसार दाउन्नेदेखि दुम्कीबास जंगल क्षेत्रसम्म करिब १५ सय सवारीसाधन जाममा फसेका छन् ।
नारायणगढ–बुटवल सडक आयोजनाका पश्चिम खण्डका सूचना अधिकारी इन्जिनियर विकास खनालले निर्माणाधीन क्षेत्रमा शीतलहरका कारण सडक हिलाम्य बनेको जानकारी दिए । विशेषगरी दाउन्नेको उकालोमा सवारीसाधन उक्लिन नसक्दा समस्या थपिएको उनको भनाइ छ । हाल खुर्सानीखोला क्षेत्रमा ग्राभेल हाल्ने काम भइरहेको र मालबाहक सवारीसाधनलाई बर्दघाट तथा भुताहा क्षेत्रमा रोकिएको उनले बताए ।
आयोजनाले एक सूचना जारी गर्दै अत्यावश्यकबाहेकका सवारीसाधनलाई वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेको छ । पूर्व–पश्चिम राजमार्ग हुँदै यात्रा गर्ने सवारीसाधनहरू नारायणगढ–मुग्लिङ–पोखरा–स्याङ्जा–पाल्पा हुँदै बुटवल जान सक्नेछन् । त्यस्तै, कालीगण्डकी चोक ९गैँडाकोट०–रामपुर–पिपलडाँडा मार्गसमेत वैकल्पिक रूपमा प्रयोग गर्न सकिने जनाइएको छ ।
काठमाडौंबाट बर्दघाटतर्फ जाने तथा बुटवलबाट काठमाडौंतर्फ आउने सवारीसाधनलाई काठमाडौं–मुग्लिङ–पोखरा मार्ग प्रयोग गर्न पनि अनुरोध गरिएको छ ।
दाउन्ने खण्डमा निर्माण तथा मर्मत कार्य जारी रहेकाले शीतलहरका कारण थप जोखिम बढेको भन्दै आयोजनाले अत्यावश्यक बाहेकका सवारी साधनले वैकल्पिक मार्ग प्रयोग गर्न र यात्रा गर्दा ट्राफिक नियमको पूर्ण पालना गर्न आग्रह गरेको छ ।





प्रतिक्रिया दिनुहोस्