Logo १२ पुस २०८२, शनिबार | Sat Dec 27 2025


पत्रकार महासंघका संस्थापक अध्यक्षको विषय टुङ्ग्याउनुपर्छ: सञ्चारमन्त्री जगदीश खरेल


416
Shares

केके मानन्धर

काठमाडौं ।
सञ्चार तथा सुचना प्रविधिमन्त्री जगदीश खरेलले चरम राजनीतिक प्रभावको कारणले नेपाल पत्रकार महासंघको इतिहास मोडिएको बताउनुभएको छ ।

सत्य र तथ्य सुचना सम्प्रेशन गर्नुपर्ने पत्रकारहरुकै इतिहास मेटिनु गलत भएको उहाँको भनाइ छ । नेवाः पत्रकार राष्ट्रिय दबूले ललितपुरमा गरेको कार्यक्रममा नेपाल पत्रकार महासंघका संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठको विषयमा चर्चा गरिएको थियो ।

मन्त्री खरेलले सत्य र तथ्य दस्ताबेज प्रस्तुत गर्न आह्वान समेत गर्नुभयो । वास्तविक तथ्य उपलब्ध भएको अवस्थामा सत्यनारायण बहादुर श्रेष्ठलाई नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष बनाउने क्षेत्रमा आफुले पनि पहल गर्ने मन्त्री खरेलले आश्वासन दिनुभएको छ ।

त्यस्तै, सत्यनारायण बहादुर श्रेष्ठकी कान्छी छोरी सुजिता मानन्धरले आफ्ना बुवाले पत्रकारिता र शिक्षा क्षेत्रमा गर्नुभएको योगदानको विषयमा चर्चा गर्नुभएको थियो । तत्कालीन दरबारसँगको सम्बन्धकै कारणले निर्वासित जीवन बिताउन भारतको कलकता पुग्नुभएका श्रेष्ठ बहुदलीय प्रजातन्त्र पश्चात् नेपाल फर्किएर पुनः शिक्षा क्षेत्रमा काम गर्नुभएको अनुभव सुनाउनुभएको थियो ।

नेपाल पत्रकार महासंघका संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठको ११० औं जन्मजयन्तीको अवसरमा सम्पन्न भएको कार्यक्रममा सञ्चारकर्मीद्वय प्रकृति अधिकारीलाई पुरस्कृत र रामकृष्ण कर्माचार्यलाई सम्मान गरेको थियो । अधिकारीलाई सत्यनारायण बहादुर श्रेष्ठ प्रेस स्वतन्त्रता सेनानी पुरस्कार ११४६ प्रदान गरिएको थियो । गोरखापत्र राष्ट्रिय दैनिकका सहसम्पादक अधिकारीलाई नगद राशी २५ हजार समेत हस्तान्तरण गरिएको थियो ।

त्यस्तै सत्यनारायण बहादुर श्रेष्ठ प्रेस स्वतन्त्रता सेनानी सम्मान ११४६ बाट श्रेष्ठका सहकर्मी वरिष्ठ पत्रकार रामकृष्ण कमाचार्यलाई सम्मानित गरेको थियो । कार्यक्रममा तेस्रो मिडिया कप फुटसल प्रतियोगितामा पुरुषतर्फ ललितपुर महानगरपालिका वडा नं। १६ कलाकार समिति र ललितपुरकै महिला पत्रकारहरुलाई उत्कृष्ट भएबापत प्रमाणपत्र, ट्रफी र मेडल हस्तान्तरण गरिएको थियो ।

नेपाल पत्रकार महासंघका संस्थापक अध्यक्षको रुपमा श्रेष्ठलाई स्थापित गर्न पत्रकार राष्ट्रिय दबूले एक दशकदेखि निरन्तर अभियान सञ्चालन गर्दैआएको कार्यक्रम संयोजक राजु नापितले बताउनुभयो । हुनपति श्रेष्ठको नेतृत्वमा २००८ वैशाख ९ गते नेपाली पत्रकारहरुकै सबभन्दा पहिलो पेशागत संगठनको रुपमा नेपाल पत्रकार संघ गठन भएको थियो । समग्र पत्रकारलाई संगठित गर्ने उद्देश्यले संघ गठन भएको एक वर्षपछि २००९ वैशाख २८ गते श्रेष्ठकै नेतृत्वमा संघ पुनर्गठन भएको इतिहास छ ।

नेपाल टुडेका सम्पादक समेत रहेका श्रेष्ठको नेतृत्वमा गठन भएको पत्रकार संघलाई कालान्तरमा नेपाल पत्रकार महासंघ बनाएको हो । तर कारणवश २०१२ चैत १६ गते पुनर्गठन गरिएको महासंघमा नेपाल पुकारका सम्पादक एवं सन्त नेता कृष्णप्रसाद भट्टराई उपाध्यायको नाम उल्लेख रहेको छ ।

फुटसल प्रतियोगितामा पत्रकार, कलाकार तथा अन्य पेशागत संघसस्थामा आवद्ध रहेका १० वटा खेलप्रेमीहरुको टिमले सहभागिता जनाएको फुटसलतर्फका संयोजक प्रजित शाक्यले बताउनुभयो । पत्रकार राष्ट्रिय दबूका केन्द्रीय अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ ९फोनिज० का संघीय अध्यक्ष लक्की चौधरी, ललितपुर महानगरपालिका वडा नंं। ५ का वडाध्यक्ष विकास मान श्रेष्ठ, १६ का वडाध्यक्ष निर्मलरत्न शाक्य, तामाङ पत्रकार संघका प्रतिनिधि, ताम्राकार समाजका प्रतिनिधिदेखि सञ्चारकर्मीहरुको उलेख्य सहभागिता थियो ।