काठमाडौं ।
माघ ९ गतेदेखि सुरु हुने छैटौं टाइगर कपमा १४ टोली सहभागी हुने भएका छन् ।
टाइगर ग्रुप अफ पोखराको आयोजनामा हुने प्रतियोगितामा यो वर्षबाट पुरस्कार राशिमा पनि वृद्धि हुने बताइएको छ ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिताको पुरस्कार राशिमा वृद्धि हुने आयोजकले जनाएको छ ।
प्रतियेगितामा महिलातर्फ ७ र पुरुषतर्फ ७ टोलीले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा नेपालका शीर्ष क्लबहरूसँगै थाइल्याण्ड, भारत र माल्दिभ्सका अन्तर्राष्ट्रिय टोलीहरूको समेत सहभागिता रहने बताइएको छ । महिलातर्फ नेपाल पुलिस क्लब, नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, टिपटप न्यू डायमन्ड युथ स्पोट्र्स क्लब, एभरेस्ट भलिबल क्लब रुपन्देही, युनाइटेड प्यासन भलिबल क्लब (थाइल्यान्ड) र थाइल्यान्ड क्वीन्स सहभागी हुनेछन् ।
पुरुषतर्फ गण्डकी प्रदेश भलिबल संघ पोखरा, नेपाल पुलिस क्लब, नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, पर्वत जिल्ला भलिबल संघ, माल्दिभ्स भलिबल एसोसिएसन र गुजरात भलिबल क्लब (भारत) सहभागी हुनेछन् । यस वर्ष महिला तथा पुरुष दुवैतर्फ विजेता टोलीले ६ लाख ६६ हजार ६६६ रुपैयाँ प्राप्त गर्नेछन् ।
उपविजेता टोलीलाई ३ लाख ६६ हजार ६६६ रुपैयाँ र तृतीय हुने टोलीलाई १ लाख ६६ हजार ६६६ रुपैयाँ पुरस्कार दिइनेछ । प्रतियोगिता माघ ९ देखि १७ गतेसम्म पोखरा रंगशालामा आयोजना हुनेछ ।





प्रतिक्रिया दिनुहोस्