Logo १९ माघ २०८२, सोमबार | Mon Feb 2 2026


आगामी निर्वाचनपछिकाे सरकारलाई सत्ता हस्तान्तरण गर्न आतुर छु: प्रधानमन्त्री कार्की

निर्वाचनलाई कम खर्चिलो, स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न आग्रह

117
Shares

काठमाडाैं। अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनमार्फत व्यक्त हुने नयाँ जनभावना अनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आफू आतुर रहेको बताउनुभएको छ।

ललितपुर महानगरपालिकाको १०७ औं स्थापना दिवसको अवसरमा बुधबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो। गत भदौ २३ र २४ गतेको जेनजी युवाहरुको आन्दोलनपछि मुलुकमा नयाँ परिस्थिति बनेको बताउदै उहाँले सुशासन र निर्वाचन आफूहरुको मुख्य एजेण्डा भएको बताउनुभयो । आगामी फागुन २१ गते निर्धारित प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्ने अर्जुनृदृष्टिका साथ अहोरात्र खटेर तयारीका काम धेरै अगाडि बढाइसकेको उहाँकाे भनाइ छ।

प्रधानमन्त्री कार्कीले निर्वाचनलाई कम खर्चिलो, स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न आ–आफ्नो ठाउँबाट सहयोग गर्न सबैलाई आग्रह गर्नुभयो। उहाँले मुलुकलाई संविधानसम्मत, लोकतान्त्रिक विधि र सुशासनको मार्गमा सुरक्षित तवरले अघि बढाउन एक मात्र विकल्प भनेको निर्वाचन रहेको बताउनुभएकाे छ।

प्रधानमन्त्री कार्कीले समाजमा कुनै पनि खालका अराजकताले ठाउँ पाउनु नहुने बताउनुभयो। शान्ति खल्बल्याउने, कानून हातमा लिनेजस्ता अराजक र आपराधिक क्रियाकलाप नियन्त्रण गर्न सुरक्षा प्रशासन सक्षम र सक्रिय रहेको पनि उहाँकाे भनाइ छ। उहाँले खराब तत्वको प्रतिरोध गर्न समुदायको पनि भूमिका उत्तिकै महत्वपूर्ण हुने बताउनुभयो।