Logo २६ मंसिर २०८२, शुक्रबार | Fri Dec 12 2025


राष्ट्रिय लिग जित्नेले ५० लाख पाउने


273
Shares

काठमाडौं ।

आगामी पुषमा सुरु हुने राष्ट्रिय लिग फुटबल प्रतियोगिताको विजेताले ५० लाख नगद पुरस्कार प्राप्त गर्ने छ । राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाका प्रवक्ता सुरेश साहले जानकारी दिएका हुन् ।

साहकै अनुसार हरेक खेलको लागि ३० हजार रकम छुट्याएको छ । जसमा, जित हार भएमा जित्ने टोलीले २० हजार र हार्ने टोलीले १० हजार नगद पाउने छन् । यस्तै, बराबरी भएमा दुबै टोलीले समान १५-१५ हजार नगद प्राप्त गर्नेछन् ।

राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरु हुनेछ । सहभागी क्लबले पुस १८ भित्र क्लबले खेलाडी दर्ता गर्नुपर्ने बताइएको छ । एन्फा र सहभागि क्लबचीच भएको बैठकमा प्रतियोगिताको खेल तालिका पुस २० गते सार्वजनिक गर्ने सहमति भएको छ ।

सिंगल राउन्ड रोबिनमा हुने राष्ट्रिय लिगमा हरेक टोलीले १६ खेल खेल्नेछ । हिमालयन शेर्पाबाहेक ए डिभिजनका १३ क्लब तथा एन्फा प्रेसिडेन्ट कपबाट छनोट भएका ४ गरि १७ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

एन्फाले राष्ट्रिय लिगको तयारीका लागि हरेक टोलीलाई तयारी १५ लाख रुपैयाँ उपलब्ध गराउनेछ । त्यस्तै एन्फा प्रेसिडेन्ट लिगबाट राष्ट्रिय लिगमा छनोट भएका काठमाडौँ उपत्यका बाहिरका क्लबलाई यातायात खर्चबापत २ लाख र काठमाडौँ उपत्यका क्लबलाई १ लाख रुपैयाँ एन्फाले दिने बताइएको छ ।

राष्ट्रिय लिग खेल्ने ए डिभिजन क्लबहरू चर्च ब्वाइज युनाइटेड, मच्छिन्द्र क्लब, नेपाल पुलिस क्लब, जावलाखेल युथ क्लब, सातदोबाटो युथ क्लब, एनआरटी, त्रिभुवन आर्मी क्लब, मनाङ मस्र्याङ्दी क्लब, संकटा क्लब, फ्रेन्डस क्लब, नेपाल एपिएफ क्लब, प्लानिङ ब्वाइज युनाइटेड र भगवती क्लब रहेका छन् ।

जसमा, प्लानिङ र भगवती यसै सिजनमा ए डिभिजनमा बढुवा भएका टोलीहरू हुन् भने ए डिभिजनको एक सफल क्लब थ्रीस्टार भने बी डिभिजनमा घटुवा भएकोले यस प्रतियोगिता खेल्न वंचित भएको छ ।

यस्तै, एन्फा प्रेसिडेन्ट कपबाट छनोट भएका चार टोलीमा कास्कीको लालीगुराँस युवा क्लब, काठमाडौंको चित्लाङ युथ क्लब, वाराको नव जनजागृति क्लब र सुर्खेतको काक्रेविहार स्पोर्टस क्लबले पनि राष्ट्रिय लिग खेल्नेछन् ।