काठमाडाैं। नेपालबाट बंगलादेशले थप २० मेगावाट विद्युत लैजाने भएको छ।
हाल ४० मेगावाट विजुली आयात गरिरहेको बंगलादेशले आगामी बर्खादेखि कूल ६० मेगावाट बिजुली नेपालबाट लिन सहमति जनाएको हो। बंगलादेशको ढाकामा बिहीबार बसेको नेपाल-बंगलादेश ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समिति (जेएससी) को सातौं बैठक पछि यस्तो सहमति भएको हो। बैठकमा नेपालका ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सचिव चिरञ्जीवी चटौत र बंगलादेशका विद्युत, ऊर्जा तथा खनिज मन्त्रालयकी सचिव फर्जाना ममताजले सह-अध्यक्षता गरेका थिए।
यसअघि बुधबार बसेको संयुक्त कार्यदलको बैठकमा भएका सिफारिस र छलफललाई आधार बनाएर सचिवस्तरीय बैठकले विद्युत व्यापारदेखि ऊर्जा सहकार्यका विभिन्न विषयमा सहमति भएको हो। नेपालबाट बंगलादेशले ४० मेगावाट विद्युत आयात गरिरहेकामा थप २० मेगावाट आवश्यक प्रक्रिया पूरा भएपछि बंगलादेशले नेपालबाट लैजाने सहमति भएको हो। त्यस्तै, सुनकोशी–३ जलविद्युत आयोजनामा लगानी प्रक्रिया अगाडि बढाउन बंगलादेशले मूल्यांकनका लागि विशेषज्ञ समिति गठन गरी लगानीका विषय छिटो टुंग्याउने सहमति जनाएको छ।
त्यसैगरी, नेपालबाट भारतीय ग्रिडमार्फत बंगलादेशको बरापुकारया, पञ्चगढ/ठाकुरगाउँ, भेरामारा र कोमिल्लासम्म विद्युत निर्यातको सम्भावना अध्ययन गर्ने, नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता प्रवर्द्धन सम्बन्धी समझदारीपत्रमा दुवै देशले आ-आफ्नो आन्तरिक प्रक्रिया पूरा गरी छिट्टै हस्ताक्षर गर्ने, दुवै देशले क्षमता अभिवृद्धि कार्यक्रम शुरु गर्ने, नेपाल, भारत र बंगलादेशबीच ऊर्जा क्षेत्रमा त्रिदेशीय सहकार्यका लागि तयार गरिएको समझदारीपत्र (एमओयू) मा भारतको सहमति लिन संयुक्त पहल गर्नेलगायतका ६ बुँदे सहमति भएको ऊर्जा मन्त्रालयले जनाएको छ।





प्रतिक्रिया दिनुहोस्