Logo ११ मंसिर २०८२, बिहिबार | Thu Nov 27 2025


अप्टिमिष्टि क्लब अफ डेरी इन्टरप्रेनर्सको अध्यक्षमा सञ्जेल चयन


143
Shares


काठमाडौं।
अप्टिमिष्टि क्लब अफ डेरी इन्टरप्रेनर्सको चार्टर अध्यक्षमा रमेश सञ्जेल चयन हुनुभएकाे छ।

काठमाडाैंमा बिहीबार इन्टरप्रेनर्सको पदस्थापन कार्यक्रम मार्फत अध्यक्षमा सञ्जेललाई चयन गरिएकाे हाे। उपाध्यक्षमा भने चेतनाथ दाहाल, सचिवमा सरोज ओझा, कोषाध्यक्षमा रामभक्त दाहाल र सदस्यहरूमा दिनेश सञ्जेल, सुरेश तिमल्सिना, हुद्धराज तिमल्सिना, दीपक तिमल्सिना, दीपक सञ्जेल, चेतनाथ दाहाल, भीम प्रसाद दाहाल, दीपप्रसाद धमला, यंकप्रसाद घिमिरे, शिव घिमिरे, सुवास दुलाल, सन्दीप घिमिरे र माधव सिवाकोटी पदस्थापन गरिएको हाे। क्लबका अध्यक्ष प्रल्हाद दाहालको अध्यक्षतामा भएको कार्यक्रममा अप्टिमिष्टि इन्टरनेशनल एसिया डिस्ट्रिकका गभर्नर प्रताप बहादुर थापा प्रमुख अतिथि तथा सचिव विजय सत्याल विशेष अतिथि रहेका थिए।

सोही अवसरमा कार्यक्रमलाई सम्बोधन गर्दै इन्टरप्रेनर्सका अध्यक्ष प्रल्हाद दाहालले डेरी व्यवसाय तथा उद्यमशीलताको विकासका लागि क्लबले गर्दै आएको गतिविधिलाई आगामी दिनमा अझ विस्तार र सुदृढ बनाइने बताउनुभयाे। उहाँले डेरी क्षेत्रका समस्या समाधान, ज्ञान विस्तार, व्यवसायिक क्षमताको विकास तथा उद्यमीबीच सहकार्य मजबुत बनाउन क्लब सक्रिय रहने प्रतिवद्धता व्यक्त गर्नुभयाे। नयाँ कार्यसमिति सक्षम, प्रतिबद्ध र परिणाममुखी हुने विश्वास समेत उहाँले व्यक्त गर्नुभएकाे छ।

प्रमुख अतिथि गभर्नर प्रताप बहादुर थापाले डेरी उद्योग नेपालको कृषिआधारित अर्थतन्त्रको महत्वपूर्ण आधार भएको बताउँदै उद्यमीहरूले आधुनिक प्रविधि- गुणस्तर सुधार र बजार विस्तारमा ध्यान दिनुपर्नेमा जाेड दिनुभयाे। अप्टिमिष्टि संरचनाले उद्यमीहरूमा नेतृत्व विकास, सेवा भाव र सकारात्मक परिवर्तनको संस्कार स्थापित गर्न महत्वपूर्ण भूमिका खेलिरहेको उहाँले उल्लेख गर्नुभएकाे छ। क्लबलाई अन्तर्राष्ट्रिय स्तरमा पहिचान बढाउन समेत उहाँले सुझाव दिनुभयाे। अप्टिमिष्टि इन्टरनेशनल एसिया डिस्ट्रिक नेपालकै नेतृत्वमा अघि बढ्नु गर्वको विषय भएकाे समेत उहाँकाे भनाइ छ।

त्यस्तै, विशेष अतिथि विजय सत्यालले अप्टिमिष्टि इन्टरनेशनल एसिया डिस्ट्रिकले समुदाय विकास, नेतृत्व प्रशिक्षण, सामाजिक उत्तरदायित्व र उद्यमशीलता प्रवर्द्धनका कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयाे। डेरी ईन्टरप्रेनर्स क्लबले गठन भएको छोटो समयमै उल्लेखनीय कार्यक्षमता देखाएको भन्दै आगामी दिनमा डेरी क्षेत्रमैत्री परियोजना, गोष्ठी र दिगो उद्यम प्रवर्द्धनमा सक्रिय भूमिका निर्वाह गर्ने उहाँले अपेक्षा गर्नुभएकाे छ।

यसैबीच, नवनिर्वाचित चार्टर अध्यक्ष रमेश सञ्जेलले डेरी उद्यमीहरूको वास्तविक आवश्यकतामा केन्द्रित कार्यक्रम, सीप विकास प्रशिक्षण, बजार प्रवर्द्धनमा सहकार्य र सदस्यहरूबीच एकता सुदृढ बनाउने दिशामा विशेष सक्रिय रहने बताउनुभयाे। नयाँ कार्यसमिति समन्वय, पारदर्शीता र परिणाममुखी कार्यशैलीमार्फत क्लबलाई प्रदेश एवं राष्ट्रिय तहमा उदाहरणीय संस्थाको रूपमा अगाडि बढाउने उहाँकाे दावी छ।